२०८३ साउन २३ , शनिबार

विद्यालय पूर्वाधारमा ११ करोड लगानी



जुम्ला । कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न जुम्लामा चालु आर्थिक वर्षमा करिब ११ करोड रुपैयाँ लगानीमा विभिन्न शैक्षिक पूर्वाधार निर्माण गर्ने भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका आठवटै स्थानीय तहका २३ सामुदायिक विद्यालयमा भवन, घेराबार, पर्खाल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्न लागेको हो ।

जिल्लाबाट माग भई आएका योजनालाई प्राथमिकताका आधारमा छनोट गरी चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रममा समावेश गरिएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका प्रमुख टोपबहादुर बुढाका अनुसार २३ विद्यालयका लागि उपभोक्ता समितिमार्फत करिब चार करोड ८० लाख रुपैयाँ र ठेक्का प्रक्रियामार्फत करिब छ करोड रुपैयाँ बराबरका शैक्षिक पूर्वाधार निर्माण गरिनेछ । यस अनुसार जिल्लाभर करिब ११ करोड रुपैयाँका योजना कार्यान्वयनमा आउनेछन् ।

छनोट भएका २३ विद्यालयमध्ये २० विद्यालयमा प्रतिविद्यालय २० लाख रुपैयाँका दरले भवन, घेराबार, पर्खाल तथा खेलमैदान निर्माणका योजना रहेका छन् । यस्तै, अन्य तीन विद्यालयमा एक विद्यालयका लागि ३० लाख र दुई विद्यालयका लागि २५ लाख रुपैयाँका दरले योजना स्वीकृत भएको कार्यालयले जनाएको छ । योजना कार्यान्वयनलाई समयमै अघि बढाउन कार्यालयले साउनमै सम्झौता प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

योजनाको स्थलगत सर्वेक्षण गरी सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वयसमेत गरिसकिएको कार्यालय प्रमुख बुढाले बताए । “फिल्डमा पुगेर योजनाको सर्वेसँगै स्थानीय तहसँग समन्वय र सहकार्य गरिसकेका छौँ,” बुढाले भने, “सर्वेपछि सम्झौताका लागि ३० दिने सूचना आह्वान गरेका छौँ । सम्बन्धित विद्यालयले नै योजना तयार गर्ने प्रावधान भएकाले विद्यालयको निर्णय, पालिकाको सिफारिस, लालपुर्जा, बैंक खाता र प्यान नम्बरलगायतका कागजात पेस गर्न अनुरोध गरेका छौँ ।”

निर्माणका काम समयमै सम्पन्न गरी विद्यालयलाई आवश्यक भौतिक सुविधा उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । विद्यालयमा सुरक्षित तथा व्यवस्थित भौतिक संरचना निर्माणसँगै खेलकुदका लागि आवश्यक पूर्वाधार विकासमा समेत प्राथमिकता दिइएको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले शैक्षिक तथा खेलकुद पूर्वाधारमा लगानी गर्दै आएको छ । योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित विद्यालय र स्थानीय तहसँगको समन्वयलाई समेत प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।

सामाजिक विकास कार्यालय जुम्लाले भौतिक पूर्वाधार निर्माणसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक बहस, प्रतिभा पहिचान तथा शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ । कार्यालय प्रमुख बुढाका अनुसार भौतिक संरचना निर्माणसँगै निर्माण भएका पूर्वाधारको दिगो व्यवस्थापन र प्रभावकारी उपयोगमा समेत विद्यालय तथा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी योजना कार्यान्वयन गरिनेछ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार