सुर्खेत । रोजगारीका पर्याप्त अवसर नहुँदा युवाको विदेश पलायन बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले युवालाई स्वदेशमै उद्यम तथा व्यवसायमा जोड्ने योजना अघि सारेको छ । चालु आर्थिक वर्षदेखि युवा उद्यमशीलता विकास र नवप्रवर्तन प्रवर्द्धनका लागि ‘स्टार्टअप फण्ड’ र ‘बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्न लागिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार युवा लक्षित उद्यमशीलता कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममार्फत युवालाई व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान, सीप, लगानी तथा बजारसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्य राखिएको छ । प्रदेश सरकारले युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले सञ्चालन गर्ने व्यवसायलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जाको कार्यक्रमसमेत अघि सारेको छ । स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार गत आर्थिक वर्षमा युवा उद्यमशीलता कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । केही काम सुरु भइसकेको र चालु आर्थिक वर्षमा युवा लक्षित कार्यक्रमलाई थप व्यवस्थित रूपमा कार्यान्वयन गर्न लागिएको उनले बताए । बिजनेस इन्क्युवेसन सेन्टरमार्फत विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई व्यवसाय दर्ता, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार तथा जोखिम व्यवस्थापनलगायत विषयमा सहजीकरण गरिनेछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार सात सय १५ जनामध्ये ५० हजार दुई सय २८ जना बेरोजगार रहेका छन् । रोजगारीका अवसरको अभावसँगै ठूलो संख्यामा युवा विदेशिँदा कर्णालीमा उत्पादन तथा निर्माण क्षेत्रमा श्रमशक्तिको अभावसमेत देखिन थालेको छ । प्रदेश सरकारले युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गरी रोजगारी सिर्जना तथा प्रतिभा पलायन रोक्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ । योजना प्रभावकारी रूपमा कार्यान्वयन भए युवा स्वरोजगारसँगै प्रदेशको उत्पादन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








