कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ७० हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइनु सकारात्मक सुरुआत हो । आर्थिक वर्ष २०८२/०८३ को असोजदेखि असारसम्म तीन जिल्लाका ७० हजार ५ सय ८ बालबालिकाले सेवा पाउनु कार्यक्रमप्रतिको आकर्षण र पहुँच विस्तारको सम्भावनालाई देखाउने तथ्य हा । तर यति ठूलो संख्यामा बालबालिका लाभान्वित भइरहँदा पनि कार्यक्रमलाई तीन जिल्लामा सीमित राख्नु पर्याप्त भने होइन । सुर्खेतमा मात्रै ६५ हजार ९२ बालबालिकाले सेवा पाएका छन् भने दैलेखमा ५ हजार ४ सय १६ र जुम्लामा ३ हजार ९ सय ६६ बालबालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन्। अहिले संघीय र प्रदेश सरकारको सहयोगमा तीनवटा आयुर्वेद स्वास्थ्य संस्थामार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । कर्णालीका दुर्गम जिल्लामा अझै पनि स्वास्थ्य सेवाको पहुँच सहज नभएको अवस्थामा यस्तो कार्यक्रमलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउनु आवश्यक छ ।

स्वर्णबिन्दु प्राशनलाई आयुर्वेदिक स्वास्थ्य प्रवद्र्धनको अभ्यासका रूपमा अघि बढाइएको छ । बालबालिकालाई प्रत्येक महिना पुष्य नक्षत्रका दिन स्वास्थ्यकर्मीको निगरानीमा निश्चित मात्रामा खुवाउने व्यवस्था छ । तर कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रम विस्तार गर्दा यसको प्रभावकारिता, सुरक्षा, वैज्ञानिक प्रमाण, सही मात्रा र स्वास्थ्यकर्मीको निगरानीलाई उत्तिकै प्राथमिकता दिनुपर्छ । प्रचारभन्दा प्रमाण र पहुँचभन्दा गुणस्तर महत्वपूर्ण हुन्छ । कर्णालीमा कुपोषण, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा पोषणसम्बन्धी चेतनाको अभाव अझै चुनौतीका रूपमा छन् । त्यसैले स्वर्णबिन्दु प्राशनलाई मात्रै बालस्वास्थ्य सुधारको सम्पूर्ण उपायका रूपमा बुझ्नु हुँदैन । बालबालिकालाई सन्तुलित पोषण, खोप, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचारको सहज पहुँच सुनिश्चित गर्नु पनि राज्यको समान प्राथमिकता हुनुपर्छ ।
कार्यक्रमकी फोकल पर्सनले पर्याप्त बजेट, जनशक्ति र तालिमको व्यवस्था भए ७९ वटै स्थानीय तहमा कार्यक्रम विस्तार गर्न सकिने बताएकी छन् । यो प्रस्तावलाई गम्भीरतापूर्वक लिनुपर्छ । तर विस्तारसँगै अनुगमन र गुणस्तर नियन्त्रणको व्यवस्था पनि बलियो बनाउन आवश्यक छ । विशेषगरी दुर्गम बस्तीका बालबालिका सेवा पाउने अवस्थाबाट वञ्चित नहुन् भन्नेमा ध्यान दिनुपर्छ । कर्णालीका अधिकांश ग्रामीण परिवार स्वास्थ्य सेवाका लागि अझै टाढा पुग्नुपर्ने बाध्यतामा छन् । त्यसैले वीरेन्द्रनगर वा केही स्वास्थ्य संस्थामा केन्द्रित कार्यक्रमले मात्र प्रदेशको वास्तविक आवश्यकता पूरा गर्न सक्दैन । स्थानीय तहका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय र समुदायस्तरका स्वास्थ्यकर्मीलाई जोडेर कार्यक्रमलाई गाउँ–गाउँसम्म पु¥याउनुपर्छ । बालबालिका प्रदेशको भविष्य हुन् । उनीहरूको स्वास्थ्यमा गरिएको लगानी तत्कालको खर्च होइन, भविष्यको मानव पुँजी निर्माण हो । त्यसैले ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई राजनीतिक प्रचार वा संख्यात्मक उपलब्धिमा सीमित नराखी बालस्वास्थ्यका अन्य कार्यक्रमसँग समन्वय गर्दै प्रभावकारी बनाउनुपर्छ । तीन जिल्लामा ७० हजारभन्दा बढी बालबालिका पुगेको यो सुरुआतलाई अब कर्णालीका ७९ वटै स्थानीय तहसम्म पु¥याउने लक्ष्यमा बदल्नुपर्छ । तर विस्तारसँगै वैज्ञानिक मूल्याङ्कन, सुरक्षा, गुणस्तर, स्वास्थ्यकर्मीको दक्षता र नियमित अनुगमन सुनिश्चित गर्न सके मात्रै यो कार्यक्रम कर्णालीका बालबालिकाका लागि वास्तविक अर्थमा उपयोगी बन्न सक्छ ।







