जुम्ला । जुम्लाको तिला गाउँपालिकाले अपरिपक्व स्याउ जिल्ला बाहिर जान नदिन निगरानी तथा गुणस्तर परीक्षणलाई कडाइ गरेको छ । स्याउको मुख्य सिजन सुरु भएसँगै समयअगावै टिपेर बाहिरी बजार लैजान खोजिएका तीनवटा स्याउ बोकेका गाडी राराचौकीमा रोकिएका छन् । पछिल्लो तीन–चार दिनमा राराचौकीमा रोकिएका गाडीमा लोड गरिएको स्याउ कृषि प्राविधिकमार्फत परीक्षण गर्दा पूर्ण रूपमा परिपक्व नभएको पाइएको तिला गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
स्याउ अझै केही दिन बोटमै राखेर मात्र टिप्न उपयुक्त देखिएपछि ती गाडीलाई तत्काल जिल्ला बाहिर जान रोक लगाइएको हो । तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्माका अनुसार आवश्यक जानकारी नदिई तथा तोकिएको समयभन्दा अगावै स्याउ टिपेर सुर्खेत र नेपालगन्जलगायतका बजारमा लैजान खोजिएपछि गाडी रोकिएको हो । उनका अनुसार रोकिएका तीनवटै गाडीका स्याउ परीक्षण गर्दा बजारमा पठाउनुअघि अझै केही दिन कुर्नुपर्ने अवस्था देखिएको थियो ।
गाउँपालिकाले नाकामा गाडी रोक्ने मात्र नभई किसानका बगैँचामै पुगेर स्याउको अवस्था परीक्षण तथा अनुगमनसमेत गरिरहेको छ । कृषि प्राविधिकसहितको टोलीले विभिन्न क्षेत्रमा रहेका बगैँचामा पुगेर स्याउको परिपक्वता, गुणस्तर र बजारमा पठाउन योग्य भए–नभएको परीक्षण गरिरहेको छ । कृषि शाखाका अनुसार स्याउको आकार ठूलो हुँदैमा मात्र बजारमा पठाउन योग्य मानिँदैन ।
आवश्यक रङ, स्वाद, गुलियोपना तथा अन्य गुणस्तरीय मापदण्ड पूरा भएपछि मात्रै स्याउ टिप्न किसानलाई आग्रह गरिएको छ । समय नपुग्दै टिपिएको स्याउ बजारमा पठाउँदा तत्काल आम्दानी भए पनि त्यसले जुम्लाको स्याउको समग्र गुणस्तरमा असर पार्न सक्ने कृषि शाखा प्रमुख विश्वकर्माले बताए । उनले केही दिन कुर्दा परिपक्व र गुणस्तरीय स्याउ बजारमा पठाउन सकिने भएकाले किसानलाई हतार नगर्न आग्रह गरे ।
राराचौकीमा रोकिएका तीनवटा गाडीमध्ये केही स्याउ तिला गाउँपालिकाका किसानको भए पनि अधिकांश स्याउ चन्दननाथ नगरपालिकाबाट ल्याइएको प्रारम्भिक परीक्षणबाट खुलेको कृषि शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको सर्वपक्षीय बैठकले यसअघि नै स्याउ टिप्ने समय निर्धारण गरेको थियो । निर्णयअनुसार तिला गाउँपालिकामा भदौ पाँच गतेदेखि स्याउ टिप्न सकिने व्यवस्था गरिएको छ भने जिल्लाका अन्य स्थानीय तहमा भदौको दोस्रो सातादेखि मात्र टिप्न पाइनेछ ।
तोकिएको समयअघि नै स्याउ टिपेर बाहिरी बजारमा पठाउने प्रयास हुन थालेपछि स्थानीय तहले निगरानी बढाएका छन् । गाउँपालिकाले किसान, व्यापारी र संकलनकर्तालाई निर्धारित समय तथा गुणस्तरीय मापदण्ड पालना गर्न आग्रह गरेको छ । काँचो स्याउ बाहिरी बजारमा पुगेमा जुम्लाको स्याउको स्वाद, गुणस्तर र बजारमा बनेको पहिचानमा नकारात्मक असर पर्न सक्ने भएकाले सबै पक्ष जिम्मेवार हुनुपर्ने कृषि शाखाले जनाएको छ । गाउँपालिकाले आगामी दिनमा पनि बगैँचा अनुगमन, स्याउ परीक्षण तथा बाहिरी बजारतर्फ जाने स्याउको निगरानीलाई निरन्तरता दिने जनाएको छ ।









