हुम्ला । हिमाली जिल्ला हुम्लाबाट यस वर्ष जिल्लाबाहिर स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको छ । काँचो स्याउको निकासी रोक्दै पाकेको, रसिलो र गुणस्तरीय स्याउ मात्र बजारमा पठाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तका अनुसार हुम्लाबाट स्याउ निर्यात गर्न सम्बन्धित गाउँपालिकाको कृषि प्राविधिकको सिफारिस लिनुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले स्याउ निकासीमा कडाइ गर्ने निर्णय गरेको हो । कार्यालयका अनुसार भदौको पहिलो साताभन्दा अघि स्याउ टिप्न नपाइने व्यवस्था गरिएको छ । त्यसपछि पनि कृषि प्राविधिकको सल्लाह अनुसार मात्र स्याउ टिप्नुपर्नेछ । स्याउको जात, उत्पादन भएको स्थान र गुलियोपनाका आधारमा पाकेको स्याउ पहिचान गरी निकासीका लागि कृषि विकास कार्यालयले सूचना जारी गर्नेछ । उक्त सूचना जिल्लाका सातवटै गाउँपालिका, कृषि उद्यमी तथा स्याउ व्यापारीलाई उपलब्ध गराइनेछ ।
प्रमुख जिल्ला अधिकारी गुरागाईंले तोकिएको नियम अवज्ञा गरी काँचो स्याउ बिक्री तथा निकासी गरेको पाइएमा त्यस्तो स्याउ जफत गरिने बताए । निकासीका क्रममा कृषि प्राविधिकको सिफारिस भए–नभएको जाँच गर्न सीमाक्षेत्रमा समेत निगरानी बढाइने भएको छ । बाजुरासँगको सीमा ताँजाकोट गाउँपालिकास्थित कवाडी प्रहरी चौकी र मुगुसँगको सीमा चङ्खेली गाउँपालिका दुई स्थित रिमी प्रहरी चौकीलाई पत्राचार गरी स्याउ निकासीमा कडाइका साथ चेकजाँच गर्ने व्यवस्था गरिएको छ । यसबाट जिल्लाबाट बाहिरिने स्याउको गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्याउ निकासीका लागि सम्बन्धित गाउँपालिकाका कृषि शाखाले गुलियोपनाको प्रमाणीकरणका आधारमा तोकिएको ढाँचामा सिफारिस गर्नुपर्नेछ । स्याउको गुलियोपना परीक्षण गर्न आवश्यक रिफ्र्याक्टोमिटर सम्बन्धित गाउँपालिकाका कृषि शाखा तथा कृषि विकास कार्यालयमार्फत प्रयोगमा ल्याइनेछ । त्यसैगरी व्यावसायिक प्रयोजनका लागि स्याउ निकासी गर्ने कृषकलाई हुम्लाको पहिचान खुल्ने विवरणसहितको कार्टुन उपलब्ध गराइने भएको छ ।
कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत त्यस्ता कार्टुन उपलब्ध गराइने जनाइएको छ । कृषि विकास कार्यालयका अनुसार हुम्लामा हालसम्म दुई हजार आठ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । त्यसमध्ये छ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट उत्पादन भइरहेको छ । चालु वर्ष जिल्लामा पाँच हजार तिन सय ८० मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।









