जाजरकोट । जाजरकोट जिल्लाको एक मात्र ५० शय्याको अस्पताल अहिले एक जना विशेषज्ञ चिकित्सकको भरमा सञ्चालन भइरहेको छ । सदरमुकामस्थित भेरी नगरपालिका तिन थाप्लेचौरमा रहेको जाजरकोट अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ भने जटिल रोगका बिरामी उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको छ । १० वर्षअघि १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा अत्याधुनिक भवन तथा आवश्यक पूर्वाधार निर्माण भए पनि दक्ष जनशक्तिको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन ।
अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि सात जनाको दरबन्दी रहेकोमा हाल अर्थोपेडिक सर्जन डा. सुनील पुन मात्रै कार्यरत छन् । सातमध्ये छ वटा विशेषज्ञ चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त रहेको अस्पतालले जनाएको छ । ६१ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा पाँच जना मेडिकल अधिकृतसहित ४० जना स्थायी कर्मचारी कार्यरत छन् । त्यसैगरी कर्णाली प्रदेश सरकारको करार सेवामार्फत विकास समिति, फार्मेसी, स्टाफ नर्स, ल्याब टेक्निसियनलगायतका क्षेत्रमा ४५ जना जनशक्ति व्यवस्थापन गरिएको छ । तर विशेषज्ञ सेवाका लागि आवश्यक चिकित्सकको अभावका कारण अस्पतालले अपेक्षाअनुसार सेवा दिन नसकेको हो ।
विशेषज्ञ चिकित्सक नहुँदा हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, बालरोगलगायत विभिन्न जटिल स्वास्थ्य समस्या भएका बिरामी प्रभावित हुने गरेका छन् । सामान्य उपचारका लागि अस्पताल पुगेका बिरामीसमेत आवश्यक विशेषज्ञ सेवा उपलब्ध नभएपछि सुर्खेत, नेपालगञ्ज तथा काठमाडौं लगायतका शहरमा उपचारका लागि जानुपर्ने अवस्था रहेको छ । यसले बिरामी र उनीहरूका परिवारलाई थप आर्थिक तथा मानसिक भार परेको छ ।
विशेषगरी वर्षायाममा झाडापखाला, संक्रामक रोग तथा विभिन्न विपद्जन्य घटनाको जोखिम बढ्ने भएकाले अस्पतालमा पर्याप्त दक्ष जनशक्ति हुनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । प्राकृतिक विपत्तिका बेला घाइते तथा बिरामीको संख्या बढ्न सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्यसेवा कार्यालयका प्रमुख डा. सुनील पुनले विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म ठोस पहल हुन नसकेको गुनासो गरे ।
उनका अनुसार भवन तथा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक दक्ष जनशक्ति नहुँदा अस्पतालको सेवा विस्तार र प्रभावकारिता कायम गर्न चुनौती भइरहेको छ । जिल्लाको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको जाजरकोट अस्पतालमा तत्काल विशेषज्ञ चिकित्सकको दरबन्दी पूर्ति गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक देखिएको छ । दुर्गम जिल्लाका नागरिकलाई आधारभूतदेखि जटिल स्वास्थ्य उपचारसम्म जिल्लामै उपलब्ध गराउन अस्पतालमा आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न सरोकारवाला निकायले प्राथमिकताका साथ पहल गर्नुपर्ने देखिन्छ ।









