हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा छात्रावासमा बस्दै आएका छात्राहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत महिला फिडर छात्रावासमा बस्दै आएका छात्राहरूलाई उक्त सामग्री प्रदान गरिएको हो । लिमिटेडका कार्यालय प्रमुख कृष्ण थापामगरका अनुसार स्थापना दिवसको अवसर पारेर छात्राहरूको दैनिक आवश्यकतासँगै शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई सानो भए पनि सहयोग पुग्ने र उनीहरूको अध्ययनमा प्रोत्साहन मिल्ने अपेक्षासहित सामग्री प्रदान गरिएको उनले बताए । लिमिटेडले छात्रावासमा रहेका छात्राहरूका लागि ७५ केजी चामल, १० लिटर तेल र पाँच केजी चिनी सहयोग गरेको छ । त्यसैगरी अध्ययनमा प्रयोग हुने २० वटा कापी र २० वटा डटपेनसमेत प्रदान गरिएको छ ।

छात्राहरूको अतिरिक्त क्रियाकलापलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले एक–एक थान भलिबल र फुटबल पनि उपलब्ध गराइएको कार्यालयले जनाएको छ । उक्त सामग्री जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावत र प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले छात्राहरूलाई हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै छात्राहरूले स्थापना दिवसको अवसरमा गरिएको सहयोगले आफूहरूलाई अध्ययन तथा दैनिक जीवनमा सहयोग पुग्ने बताएका छन् ।
महिला फिडर छात्रावासमा बस्दै आएका छात्राहरू मानसरोवर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच र गुणस्तर सुधारका लागि सरकारी तथा गैरसरकारी निकायबाट हुने यस्ता सहयोगले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।








