सल्यान । कपुरकोट गाउँपालिका तिन स्थित प्रहरी चौकीको जीर्ण भान्सा मर्मत तथा व्यवस्थापनका लागि स्थानीय व्यवसायीहरूले सहयोग गरेका छन् । कपुरकोट ताजा तरकारी व्यवसायी संगठनले चौकीको जीर्ण भान्सा घरको छाना मर्मतसँगै आवश्यक भाँडाकुँडा तथा अन्य सामग्री उपलब्ध गराएको हो । प्रहरी चौकीमा बिहीबार आयोजित कार्यक्रममा संगठनका अध्यक्ष यज्ञराज बोहरा र कोषाध्यक्ष जुबेर अहमदले सहयोग सामग्री चौकीका इन्चार्ज दीपक बस्नेतलाई हस्तान्तरण गरे ।
संगठनका अनुसार प्रहरी चौकीको भौतिक अवस्था सुधार तथा प्रहरी कर्मचारीको दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले ३१ हजार सात सय ३६ रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको हो । भान्सा घरको जीर्ण छाना मर्मतका लागि १८ पाता निलो रंगीन जस्तापाता, १० फिटका प्लेन जस्तापाता, काँटी, वासरसहितका सामग्री उपलब्ध गराइएको छ ।
वर्षायाममा पानी चुहिने समस्या रहेको भान्सा घरको छाना मर्मतपछि प्रहरी कर्मचारीलाई खाना पकाउन तथा भान्सा व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । त्यसैगरी भान्सा व्यवस्थापनका लागि आठ लिटर र पाँच लिटर क्षमताका दुई थान प्रेसर कुकर, कराहीलगायत आवश्यक भाँडाकुँडा पनि प्रदान गरिएको छ । चौकीमा कार्यरत प्रहरी कर्मचारीको दैनिक आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको संगठनले जनाएको छ ।
संगठनका कोषाध्यक्ष जुबेर अहमदले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी चौकीलाई सहयोग गरिएको बताए । चौबीसै घण्टा नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीको कार्यस्थल व्यवस्थित बनाउन सहयोग गर्दा उनीहरूको काममा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । “प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिने भएकाले कार्यस्थल व्यवस्थित बनाउन स्थानीय व्यवसायीका तर्फबाट सक्दो सहयोग गरेका हौँ,” अहमदले भने । उनले आगामी दिनमा पनि समुदायको आवश्यकता हेरेर सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताए ।
सहयोग सामग्री बुझ्दै प्रहरी चौकीका इन्चार्ज दीपक बस्नेतले व्यवसायीले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले भान्सा व्यवस्थापनमा भएको सहयोगले प्रहरी कर्मचारीको दैनिक जीवन सहज हुनुका साथै कार्यसम्पादनमा समेत सहयोग पुग्ने बताए । स्थानीय व्यवसायी र प्रहरीबीचको सहकार्यले प्रहरी–नागरिक सम्बन्ध थप सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ। स्थानीय स्तरमा व्यवसायीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस्तो सहयोगले सामुदायिक सहकार्य र आपसी विश्वास बढाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।









