सुर्खेत । कर्णाली प्रदेश सरकारले हरियाली प्रवद्र्धनसँगै पर्यटन विकासलाई प्राथमिकतामा राख्दै यस वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । सहरी क्षेत्रलाई आकर्षक बनाउने, वातावरण संरक्षण गर्ने तथा पर्यटकीय क्षेत्रको विकासमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले कार्यक्रम अघि बढाउन लागिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा हरियाली प्रवद्र्धन कार्यक्रमका लागि ३९ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटबाट सहरी क्षेत्रका सडक किनारामा वृक्षारोपण, पार्क तथा उद्यान निर्माण, खुला स्थानको संरक्षण, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिनेछ । मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार अघिल्लो वर्ष विभिन्न सम्भावित स्थानको अध्ययन गरिएको थियो । सोही अध्ययनका आधारमा यस वर्ष हरियाली तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरिनेछ । हरियाली विस्तारले वातावरण संरक्षणसँगै सहरको सौन्दर्य बढाउने र पर्यटक आकर्षित गर्न सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि सहरी हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिँदै सडक किनारामा वृक्षारोपण गर्दै आएको छ । नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख प्रकाश पौडेलका अनुसार बाटोको मापदण्ड पुगेका सडकखण्डमा यसअघि करिब एक हजार पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ । यो वर्ष पनि सडक तथा विभिन्न पार्कमा वृक्षारोपणलाई निरन्तरता दिइनेछ । कर्णाली प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न प्रदेश भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेको छैन ।
रारा, शे–फोक्सुण्डो, कुपिण्डे र बुलबुले ताल, काँक्रेविहार, पञ्चकोशी, पचालझरना तथा सिंजा सभ्यताजस्ता महत्वपूर्ण गन्तव्य कर्णालीमा रहेका छन् । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले ‘गन्तव्य कर्णाली’ एपलाई थप व्यवस्थित र परिमार्जनसहित सञ्चालन गर्ने तयारी गरेको छ। साथै पर्यटक गाइड पुस्तक निर्माण तथा नयाँ पर्यटकीय गन्तव्य पहिचानको कामसमेत अघि बढाइने भएको छ । प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन तथा धार्मिक पर्यटनलाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्न सके कर्णालीले पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सक्ने प्रदेश सरकारको विश्वास छ ।









