२०८३ साउन २९ , शुक्रबार

लाप्चा नाकाबाट ५२ लाखको अवैध चिनियाँ मदिरा बरामद



हुम्ला । नेपाल–चीन सीमा नाम्खा गाउँपालिका छ को लाप्चा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएको ५१ लाख ९३ हजार छ सय रुपैयाँ बराबरको चिनियाँ मदिरा तथा बियर सुरक्षाकर्मीले बरामद गरेका छन् । व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको मदिरा बेवारिसे अवस्थामा राखिएको सूचना पाएपछि संयुक्त सुरक्षाकर्मीको टोलीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सुरक्षाकर्मीले पाँच सय ९४ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएका छन् ।

प्रत्येक कार्टुनमा १२ बोतल रहेका कारण बरामद मदिराको संख्या सात हजार एक सय २८ बोतल रहेको छ ।  त्यसैगरी, सुरक्षाकर्मीले सोही स्थानबाट एक सय ९४ कार्टुन चिनियाँ बियरसमेत बरामद गरेको प्रहरीले जनाएको छ। एउटा कार्टुनमा २४ बोतलका दरले जम्मा चार हजार छ सय ५६ बोतल बियर बरामद भएको हो । प्रहरीका अनुसार बरामद गरिएको मदिरा तथा बियरको बजार मूल्य ५१ लाख ९३ हजार छ सय रुपैयाँ रहेको छ ।

व्यापार मेलाका क्रममा सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा चिनियाँ मदिरा भित्र्याइएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा खटिएको संयुक्त सुरक्षाकर्मीको टोलीले लाप्चा क्षेत्रको सल्लीमा बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर फेला पारेको थियो । सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएपछि बरामद सामग्री शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको छ ।

सीमावर्ती क्षेत्रमा हुने व्यापारिक गतिविधिका क्रममा अवैध रूपमा मदिरा तथा अन्य सामग्री भित्रिन नदिन सुरक्षाकर्मीले निगरानी बढाउँदै आएका छन् । ठूलो परिमाणमा अवैध मदिरा बरामद भएपछि यसको ओसारपसार तथा संलग्न व्यक्तिबारे समेत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा संयुक्त सुरक्षा परिचालनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार