२०८३ साउन २९ , शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदमा आवेदन खुला



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले रिक्त रहेका चार महत्वपूर्ण पदाधिकारी पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो । प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउँदै प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरेको जनाएको छ । पदाधिकारी नियुक्तिका लागि कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू (शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन माग गरिएको हो ।

प्रतिष्ठानका अनुसार तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् । रिक्त पदमा योग्य व्यक्तिको छनोट गरी प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले पदपूर्तिको प्रक्रिया अघि बढाइएको हो । शिक्षाध्यक्ष पदले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधिको नेतृत्व गर्ने भएकाले उक्त पदमा हुने नियुक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । त्यस्तै, रजिस्ट्रारले प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् भने डीन र निर्देशकले प्रतिष्ठानअन्तर्गतका शैक्षिक तथा स्वास्थ्य सेवासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेछन् ।

कर्णालीको दुर्गम क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य शिक्षा तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानका महत्वपूर्ण पद लामो समय रिक्त रहँदा प्रशासनिक तथा शैक्षिक गतिविधिमा असर पर्न सक्ने भएकाले पदपूर्तिलाई प्राथमिकताका साथ अघि बढाइएको हो । प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार आवेदन सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पेस गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले भदौ तिन गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

आवेदनसँगै आवश्यक कागजात तथा तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । छनोट तथा सिफारिस कार्यविधिअनुसार उम्मेदवारको योग्यता, अनुभव तथा अन्य मापदण्डका आधारमा प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ । चारै पदमा योग्य नेतृत्व चयन भएपछि प्रतिष्ठानको शैक्षिक कार्यक्रम विस्तार, प्रशासनिक व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार