२०८३ साउन ३१ , आइतबार

दार्माका भूकम्पपीडित पुनर्निर्माणको पर्खाइमा



सल्यान । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन नाै डिडिए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिमा पेस भइसके पनि आवश्यक प्रक्रिया पूरा नहुँदा प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन् ।

२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्माका निजी आवासमा ठूलो क्षति पुगेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पोर्टलमा समावेश भएका घरधुरीको क्षति मूल्याङ्कन गरी डिडिए प्रतिवेदन तयार गरिएको हो ।

जाजरकोट र रुकुमपश्चिममा प्राधिकरणले विस्तृत क्षति आकलन गरे पनि सल्यानमा भने स्थानीय तहले आफ्नै स्रोत, बजेट र जनशक्ति परिचालन गरी काम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले प्राधिकरणबाट हुनुपर्ने कामसमेत पालिकाले आफ्नै खर्चमा पूरा गरेको बताए । प्रतिवेदन स्वीकृत गरी केन्द्रमा पठाउने प्रक्रियामा ढिलाइ हुँदा प्रभावितलाई पुनर्निर्माण सहायता उपलब्ध गराउन समस्या भएको उनकाे छ ।

गाउँपालिकाका अनुसार दार्मामा एक हजार छ सयभन्दा बढी लाभग्राहीले अस्थायी आवासको पहिलो किस्ता र चार हजार एक सयभन्दा बढीले दोस्रो किस्ता पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार स्थानीय तहबाट पठाइएको क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिबाट प्राविधिक रूपमा पुनःपरीक्षण गर्ने निर्णय भएको छ ।

भूकम्पबाट दार्मामा चार हजार ८० निजी घरमा क्षति पुगेको थियो। त्यस्तै, नौ विद्यालय, दुई स्वास्थ्य संस्था तथा वडा कार्यालयसहित खानेपानी, सिँचाइ र सडकका गरी ५९ सार्वजनिक संरचनामा क्षति पुगेको थियो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनर्निर्माण सुरु हुन नसक्दा धेरै परिवार अझै अस्थायी टहरामा बस्न बाध्य छन् । वर्षायाममा टहराको बसाइले उनीहरूको समस्या थप बढाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार