सिमकोट । हुम्लामा सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौतापछि भदौ एक गतेदेखि हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था लागू हुने भएको हो । जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले राहदानी लिन कार्यालयमै आउने वा हुलाकमार्फत घरमै प्राप्त गर्ने विकल्प रोज्न सक्ने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए ।
आवेदनकै क्रममा सेवाग्राहीले आफूले कुन विकल्प रोज्ने हो भन्ने जानकारी कर्मचारीलाई दिनुपर्नेछ । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले थप ५५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । कार्यालय सम्म पुग्न समय र खर्च लाग्ने हुम्लाजस्तो दुर्गम जिल्लाका नागरिकलाई यो सेवाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत शुक्रबार सम्झौता भएको हो ।
सम्झौतामा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाही र जिल्ला हुलाक कार्यालयका प्रमुख अकल बमले हस्ताक्षर गरेका छन् । हाललाई हुम्ला जिल्लाभित्रका सेवाग्राहीलाई लक्षित गरी सेवा सुरु गर्न लागिएको हो । भविष्यमा देशका अन्य जिल्लामा बसोबास गर्ने हुम्लाका नागरिकलाई समेत हुलाकमार्फत राहदानी उपलब्ध गराउने विषयमा राहदानी विभागसँग छलफल भइरहेको प्रशासनले जनाएको छ ।
जिल्ला हुलाक कार्यालयका प्रमुख अकल बमले हुलाकको संरचना गाउँपालिका तथा वडा तहसम्म रहेकाले राहदानी वितरणमा कठिनाइ नहुने बताए । उनका अनुसार जिल्लाका सातवटै गाउँपालिका तहमा हुलाकको संरचना छ भने ४४ वडामा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । दुर्गम क्षेत्रका नागरिकलाई राहदानी लिन जिल्ला सदरमुकामसम्म आउँदा आर्थिक खर्चसँगै समयसमेत बढी लाग्ने गरेको छ । घरमै राहदानी पाउने व्यवस्थाले सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।









