२०८३ भदौ १ , सोमबार

त्रिपुरासुन्दरीमा स्वास्थ्य सूचकको समीक्षा



डोल्पा । जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०८२ र ०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम तथा स्वास्थ्य सूचकको वार्षिक समीक्षा गरेको छ । नगरपालिकाको आयोजनामा दुई दिनसम्म चलेको समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा आगामी योजनाबारे छलफल गरिएको हो । गोष्ठीमा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै स्वास्थ्य सूचकमा आएको परिवर्तनबारे विश्लेषण गरिएको थियो । साथै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक कार्ययोजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले बताए ।

समीक्षाका क्रममा आर्थिक वर्ष २०८१र०८२ को तुलनामा २०८२ र ०८३ मा घरमै सुत्केरी हुने महिलाको संख्या घटेको पाइएको छ । यसलाई सुरक्षित मातृत्व तथा संस्थागत सुत्केरी सेवातर्फको सकारात्मक प्रगतिका रूपमा लिइएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभ्यास बढ्दै गएको र मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको निष्कर्ष निकालिएको छ । आर्थिक वर्ष २०८३ र ०८४ का लागि तयार गरिएको कार्ययोजनामा स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावकारी बनाउने, स्वास्थ्य सूचकमा सुधार ल्याउने र नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रमका अवसरमा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । लिकु स्वास्थ्य चौकीमा कार्यरत सि.अनमी धर्मादेवी बोहरालाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ । त्यस्तै, नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था र स्वास्थ्य सेवा कार्यालय दुनैलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

नगर उपप्रमुख देवी घर्तीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरू, स्वास्थ्य सेवा कार्यालय दुनैका डा. अजय पाण्डे, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, शाखा प्रमुख, पोषण फोकल पर्सन, एमडीआई संयोजक तथा प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख र बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीको सहभागिता थियो । समीक्षा गोष्ठीले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि र कमजोरी पहिचान गर्दै आगामी दिनमा संस्थागत सुत्केरी प्रवर्द्धन, सेवा गुणस्तर सुधार र स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने आधार तय गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार