दिलीप कंडेल चौकुने । चौकुने गाउँपालिकामा खाना पकाउने एलपी ग्यासको माग दिनानुदिन बढिरहेका बेला नेपाल आयल निगमले भने न्यून परिमाणमा मात्रै ग्यास पठाएको पाइएको छ। स्थानीय बजारमा दैनिक तथा नियमित रूपमा ग्यासको आवश्यकता बढ्दै गए पनि मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताहरू सास्ती खेप्न बाध्य भएका छन्।

नेपाल आयल निगम लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको बिक्री तथा वितरण तालिकाअनुसार चौकुनेका लागि ५० वटा ग्यास सिलिन्डर मात्र पठाइएको छ। १४ दशमलव २ किलोग्राम क्षमताको उक्त ग्यास सिलिन्डरको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकिएको छ। तालिकामा ग्यास वितरणको अनुमानित समय साँझ ५ बजे उल्लेख गरिए पनि गाडी दाङबाट आउने भएकाले बाटोको अवस्था र समयअनुसार वितरण समय केही परिमार्जन हुन सक्ने निगमले जनाएको छ।
यद्यपि चौकुने क्षेत्रमा स्थानीय उपभोक्ताको ग्यासको माग भने करिब २०० सिलिन्डर रहेको व्यवसायीहरू बताउँछन्। मागको तुलनामा निगमबाट आएको ग्यासको परिमाण निकै कम (चौथाइ मात्र) भएकाले सबै उपभोक्तालाई समान रूपमा ग्यास उपलब्ध गराउन ठूलो चुनौती देखिएको छ।
न्यु एम के सप्लायर्सका व्यवस्थापक दिनेश जोशीका अनुसार स्थानीय बजारको माग करिब २०० सिलिन्डर रहे पनि आयल निगमबाट ५० सिलिन्डर मात्रै प्राप्त भएकाले वितरणमा समस्या उत्पन्न भएको छ। जोशीले भने, स्थानीयको माग करिब २०० सिलिन्डर छ, तर निगमबाट ५० सिलिन्डर मात्रै आएको छ। यस्तो अवस्थामा सबै उपभोक्तालाई कसरी वितरण गर्ने भन्ने समस्या छ। आपूर्ति कम हुँदा कतिपय उपभोक्ता खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आउन सक्छ। त्यसैले मागअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन आवश्यक छ।
चौकुनेमा पछिल्लो समय घरायसी प्रयोजनका साथै होटेल, चिया पसल तथा अन्य व्यावसायिक कामका लागि समेत एलपी ग्यासको प्रयोग तीव्र रूपमा बढिरहेको छ। आपूर्ति पर्याप्त नहुँदा उपभोक्ताहरू घण्टौँ कुर्न वा वैकल्पिक इन्धनको प्रयोग गर्न बाध्य भएका छन् ।
स्थानीय उपभोक्ताहरूले चौकुनेको वास्तविक मागलाई ध्यानमा राखेर आयल निगमले नियमित तथा पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराउनुपर्ने र सीमित ग्यासलाई पारदर्शी ढङ्गले वितरण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, व्यवसायीहरूले पनि स्थानीय बजारको वास्तविक मागका आधारमा कोटा निर्धारण गरी आपूर्ति बढाउन सम्बन्धित निकायहरूसँग तत्काल समन्वय र पहल हुनुपर्ने बताएका छन्।








