२०८३ भदौ १ , सोमबार

आज नागपञ्चमी, नागको पूजा गरिँदै



सुर्खेत । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नागपञ्चमी पर्व मनाउँदैछन् । परम्पराअनुसार घरको मूलढोकामा नागको तस्वीर टाँसेर विधिपूर्वक पूजा गर्ने तथा नागलाई दूध चढाउने चलन छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ एक गते परेको हो । धार्मिक विश्वासअनुसार नागको पूजा गरी घरको ढोकामा नागको तस्वीर राख्दा वर्षभरि नाग, सर्प तथा बिच्छीजस्ता जीवबाट हुने जोखिमबाट बच्न सकिन्छ। साथै अग्नि, मेघ र चट्याङको भयसमेत नहुने विश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि नै चलिआएको मानिन्छ । वैदिक मान्यतामा नागलाई सर्पका राजा मानिन्छ। नाग प्रसन्न भए वर्षा र पानी पर्याप्त हुने विश्वासका कारण पनि पानीको कामना गर्दै नागको पूजा गर्ने परम्परा विकसित भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख पाइन्छ । यही कारण पनि यो दिन नागपूजाका लागि विशेष मानिँदै आएको छ ।

सनातन धार्मिक परम्परामा नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ।  भगवान् शिवले नागलाई गलामा धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक मान्यता छ । गणेशको एक हातमा नाग रहेको चित्रण पाइन्छ भने लक्ष्मण र बलरामलाई शेषनागका अवतारका रूपमा मान्ने परम्परा पनि छ । त्यस्तै, भगवान् श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग पुराणहरूमा वर्णन गरिएको छ । बुद्धको मूर्तिमा समेत सर्पको आकृति देखिन्छ । मत्स्येन्द्रनाथसँग कर्कोटक नागको सम्बन्ध जोडिएको छ भने जैन तीर्थङ्करका मूर्तिहरूमा पनि सर्पाकार मुकुट देख्न सकिन्छ ।

नागपञ्चमीसँग जोडिएका विभिन्न किंवदन्तीमध्ये किसान र नागिनीको कथा निकै चर्चित छ । किंवदन्ती अनुसार खेत खन्ने क्रममा एक किसानले नागका तीनवटा बच्चा मारेपछि तिनकी आमा नागिनी क्रोधित भइन् । उनले किसानसहित परिवारका सदस्यलाई मारिन् । तर किसानकी छोरीले नागिनीलाई पूजा गरी दूध चढाएर प्रसन्न पारिन् । किसानकी छोरीको भक्तिबाट प्रभावित नागिनीले वर माग्न आग्रह गरेपछि उनले आफ्ना मृत माता, पिता र भाइहरूलाई पुनर्जीवन दिन अनुरोध गरिन् ।

नागिनीले उनको अनुरोध स्वीकार गरेपछि किसानको परिवार जीवित भएको र त्यसै घटनाको सम्झनामा नागपूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ । यसै धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा आज घर–घरमा नागको तस्वीर टाँस्ने, पूजा गर्ने र नागलाई दूध तथा विभिन्न प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्ध तथा सर्पलगायत जीवप्रतिको सम्मानको परम्परालाई समेत स्मरण गराउँदै आएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार