रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाका पाँच वडाका अगुवा किसानलाई एकीकृत तथा दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ । नागरिक समाज सबलीकरण मार्फत भूकम्प प्रभावित परिवारको खाद्य सुरक्षा तथा उत्थानशील जीविकोपार्जन प्रवर्द्धन गर्ने (SUSTAIN) परियोजना अन्तर्गत वडा नं । सात, नाै, १०, ११ र १२ का कृषक समूहका अगुवा किसानलाई तालिम दिइएको हो । BMZ/WHH को आर्थिक तथा प्राविधिक सहयोग तथा RRN, FTGN र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
परियोजना संयोजक उदय केसीका अनुसार जलवायु उत्थानशील तथा दिगो कृषि प्रणालीको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सुधार र स्थानीय किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा जलवायु उत्थानशील कृषि, पोषण संवेदनशील कृषि, LANN+ का व्यावहारिक उपाय, एकीकृत रोग तथा कीरा व्यवस्थापन, गुणस्तरीय बीउ छनोट र व्यवस्थापन लगायतका विषयमा जानकारी दिइएको थियो । सहभागीलाई किसान सिकाइ प्रभावकारी बनाउने सहभागीमूलक तथा वयस्क सिकाइ विधिबारे समेत अभ्यास गराइएको थियो ।
तालिमका क्रममा एक दिन प्रयोगात्मक फिल्ड कक्षा पनि सञ्चालन गरिएको थियो । तालिममा WHH का प्राविधिक संयोजक गोविन्द ढकाल, आठबिसकोट नगरपालिका कृषि शाखाका प्रमुख गोपालकृष्ण साह, प्राविधिक सहायक अनिराज शाही, SUSTAIN Project परियोजनाका संयोजक उदय केसी र नागेन्द्रप्रसाद भट्ट, जुनियर प्राविधिक अधिकृत बिमला बिष्ट मगर तथा श्रीकुमार बुढाले सहजीकरण गरेका थिए । तालिममा २१ कृषक समूहका २१ महिला अगुवा किसान र पाँच जना चेन्ज एजेन्ट गरी २६ जनाको सहभागिता थियो ।
समापन कार्यक्रममा अगुवा किसान बिर्मी कामीले तालिमबाट कृषि तथा पोषणसम्बन्धी व्यवहारिक ज्ञान र नयाँ दृष्टिकोण प्राप्त भएको बताइन् । उनले सिकेको ज्ञान तथा सीप समूहका अन्य किसानसँग बाँड्दै व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमका प्रमुख अतिथि आठबिसकोट नगरपालिका नाै का वडाध्यक्ष जनक बटालाले किसानको आवश्यकता र प्रतिबद्धताका आधारमा वडा तथा नगरपालिकाबाट सहयोग गर्ने बताए ।
उनले स्थानीय उत्पादनको बजारीकरणमा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै कृषि क्षेत्रमा गरिएको लगानीलाई प्रभावकारी बनाउन किसान स्वयं सक्रिय र जिम्मेवार हुनुपर्नेमा जोड दिए । साझेदार संस्थाका प्रतिनिधिहरूले तालिमबाट प्राप्त ज्ञान र सीप समुदायका अन्य किसानसम्म पुर्याउन सहभागीलाई आग्रह गरेका छन् । तालिमपछि अगुवा किसानलाई समुदायस्तरमा ज्ञान, सीप र व्यवहार परिवर्तनका स्थानीय स्रोत व्यक्तिका रूपमा परिचालन गरी जलवायु उत्थानशील कृषि, दिगो उत्पादन तथा खाद्य र पोषण सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएकाे छ ।









