सल्यान । गत आर्थिक वर्ष २०८२ र ८३ मा २२ लाख ६८ हजार एक सय ६५ किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटै स्थानीय तहका राष्ट्रिय वन तथा निजी आवादीबाट संकलित जडीबुटी बाहिरी जिल्लामा निकासी गरिएको हो । जडीबुटी बिक्रीबाट गत वर्ष जिल्लामा २३ करोड ३६ लाख ८१ हजार पाँच सय रुपैयाँ भित्रिएको कार्यालयले जनाएको छ । १३ प्रजातिका जडीबुटी निकासीबाट २३ लाख ३३ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए ।
सल्यानबाट टिमुर, रिठा, तेजपात, काउलोको बोक्रा, चुत्रो, गुजरगानो, अमला, घोडताप्रे, दालचिनीको बोक्रा, गुर्जो, कचुर, झ्याउ र कालिकाठको दानालगायत जडीबुटी निकासी भएका छन् । तीमध्ये चुत्रो, रिठा र टिमुरको निकासी सबैभन्दा बढी रहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा तिन लाख २७ हजार दुई सय ४५ किलो टिमुर निकासी भएको थियो । टिमुरबाट मात्रै १७ करोड ९९ लाख रुपैयाँ जिल्लामा भित्रिएको र १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको खड्काले बताए । त्यस्तै, पाँच लाख ५४ हजार दुई सय ३२ किलो रिठाबाट दुई करोड २१ लाख रुपैयाँ तथा आठ लाख ६२ हजार एक सय ७५ किलो चुत्रोबाट एक करोड ८९ लाख रुपैयाँ जिल्लामा भित्रिएको छ ।
गुजरगानोबाट ७५ लाख ५४ हजार, तेजपातबाट २४ लाख, काउलोको बोक्राबाट २३ लाख ५० हजार, अमलाबाट पाँच लाख ४० हजार र घोडताप्रेबाट एक लाख ८० हजार रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ । दालचिनी, गुर्जो, कचुर, झ्याउ र कालिकाठको दानाबाट समेत जिल्लामा आम्दानी भएको छ । छत्रेश्वरी गाउँपालिका, शारदा र बनगाड कुपिण्डे नगरपालिकामा टिमुरको संकलन बढी हुने गरेको छ । त्रिवेणी, छत्रेश्वरी र बागचौर क्षेत्रमा रिठा तथा बनगाड कुपिण्डे, कुमाख र दार्मामा चुत्रो बढी पाइने कार्यालयले जनाएको छ ।
कालिमाटी, त्रिवेणी र कपुरकोट क्षेत्रमा तेजपातको संकलन बढी हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१ र ८२ मा सल्यानबाट १७ लाख ३९ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको थियो । उक्त वर्ष १९ लाख ३९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो । कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष जडीबुटीको संकलन तथा निकासीको परिमाण उल्लेख्य रूपमा बढेको छ ।









