२०८३ भदौ १ , सोमबार

मुगुको पुलुबजारमा पहिरो र ढुंगा खस्ने जोखिम बढ्यो



मुगु । मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलुबजारमा बर्खा सुरु भएसँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेको छ । बजारमाथिबाट पहिरो तथा ठूला ढुंगा खस्ने र तल कर्णाली नदीले कटान गर्ने क्रम बढेपछि स्थानीयवासी तथा गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी त्रासमा छन् । मुगुमकार्मारोङ नाै का वडाध्यक्ष रतन बुढाका अनुसार माथिबाट खस्ने पहिरो र ढुंगा तथा तलबाट बढ्ने नदीको बहावका कारण हरेक वर्षायाममा पुलुबजारवासी जोखिममा पर्ने गरेका छन् ।

उनका अनुसार २०७६ सालदेखि पटक–पटक ठूला ढुंगा खस्दा गाउँपालिकाको भवन, क्यान्टिन, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी भवनलगायत संरचनामा क्षति पुगेको छ । पहिरो र ढुंगा खस्ने क्रमले गाउँपालिका केन्द्र आसपासका १९ घर प्रयोगविहीन बनेका छन् । ती घर जुनसुकै बेला भत्किन सक्ने अवस्थामा रहेको वडाध्यक्ष बुढाले बताए । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गत असार २३ गते गाउँपालिका कार्यालय परिसरमा ठूलो ढुंगा खस्दा सूचना बोर्ड नष्ट भएको थियो । त्यसको दुई सातापछि साउन आठ गते राति ढुंगा खस्दा एक बालकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

घटनामा दुई घर पूर्णरूपमा ध्वस्त र पाँच घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका थिए ।  सरकारी अभिलेख, जिन्सी सामग्री, स्वास्थ्य उपकरण तथा औषधिसमेत नष्ट भएको प्रहरीले जनाएको छ । जोखिम बढेपछि कर्मचारी तथा जनप्रतिनिधि डेरा छाडेर स्वास्थ्य चौकी र सुरक्षित घरमा रात बिताउन बाध्य भएका छन्। असुरक्षित अवस्थाका कारण नियमित कार्यालय सञ्चालन र सेवा प्रवाहमा समेत समस्या भएको कर्मचारीले बताएका छन् । यसैबीच, हुम्लामा पनि यस वर्ष बाढीपहिरोका कारण दुई जनाको मृत्यु भएको छ ।

जेठदेखि साउनसम्म जिल्लाका विभिन्न स्थानमा दर्जनभन्दा बढी पहिरो तथा बाढीका घटना भएका छन् । पहिरोमा पशुचौपाया मर्नुका साथै सडक, विद्यालय, खेतीयोग्य जमिन र पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयले दुवै जिल्लाका जोखिमयुक्त बस्ती तथा सरकारी कार्यालयको तत्काल सुरक्षित व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार