जुम्ला । बाजुरामा रहेको प्रसिद्ध बडिमालिका भगवती मन्दिरमा परम्परागत पूजा गर्न जुम्लाको सरकारी टोली आज साउन एक गते त्यसतर्फ प्रस्थान गरेको छ । नागपञ्चमीका अवसरमा बडिमालिकामा पूजा गर्ने पुरानो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार टोली बाजुरा गएको हो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार खरिदार तिलकप्रसाद न्यौपानेको नेतृत्वमा प्रशासन कार्यालयका कर्मचारी र पुजारी विष्णुप्रसाद उपाध्यायसहित पाँच सदस्यीय टोली बडिमालिकातर्फ गएको छ ।
टोलीसँगै जुम्लाबाट ठूलो सङ्ख्यामा भक्तजनसमेत यात्रामा सहभागी भएका छन् । बडिमालिकामा नागपञ्चमीका दिन जुम्लाबाट सरकारी टोली पुगेर पूजा गर्ने परम्परा लामो समयदेखि चलिआएको छ । तत्कालीन जुम्ला र डोटी राज्यबीच कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धका आधारमा बडिमालिकामा संयुक्त रूपमा पूजा गर्ने चलन अहिले पनि निरन्तर रहेको प्रजिअ शर्माले बताए ।
टोलीलाई बिदाइ गर्नुअघि नेपाली सेनाको टुकडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सम्मानमा सलामी अर्पण गरेको थियो। ब्यान्डबाजा र बिगुलसहित पूजाको डोली बोकेर प्रस्थान गरेको टोलीलाई स्थानीयवासी, भक्तजन तथा सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिले फूलमाला र अबिर लगाएर बिदाइ गरेका थिए ।
प्रजिअ शर्माका अनुसार यात्राका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन मार्गमा पर्ने सीमावर्ती जिल्लाका प्रशासन तथा प्रहरी कार्यालयसँग समन्वय गरिएको छ । आवश्यक पत्राचार गरी सुरक्षा व्यवस्थापनको तयारी पूरा गरिएको उनले बताए ।जुम्लाको टोली बडिमालिका पुगेपछि डोटी र बाजुराबाट पुगेका टोलीसँगै संयुक्त रूपमा पूजा गर्ने परम्परा छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको बडिमालिका यात्रा जुम्लाको पुरानो धार्मिक परम्पराका रूपमा लिइँदै आएको छ ।









