सुर्खेत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाएका छन् ।
कम्पनी स्थापना भएको नौ वर्ष पूरा भएको अवसरमा सुर्खेतस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आईएमई लाइफका कर्णाली प्रदेश प्रमुख जीवन कुमार धामीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमडिआरटी, चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर तथा विभिन्न अभिकर्ता र कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना २०७४ भदौ एक गते भएको हो । स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा देशभर रहेका कम्पनीका शाखा तथा कार्यालयहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएका छन् ।
कर्णाली प्रदेशमा आईएमई लाइफका १३ वटा शाखा सञ्चालनमा रहेका छन् । कम्पनीले बीमाको पहुँच विस्तार गर्दै नागरिकलाई जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कर्णालीका विभिन्न जिल्लामा शाखा विस्तारसँगै स्थानीय स्तरमा बीमा सचेतना अभिवृद्धि गर्न समेत कम्पनीले भूमिका खेल्दै आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आईएमई लाइफ जीवन बीमा कम्पनीहरूमध्ये आम्दानीका आधारमा नेपालकै प्रथम बनेकाे थियाे । कम्पनीका प्रदेश प्रमुख धामिका अनुसार कम्पनीले आफ्नो सेवा, व्यवसाय र अभिकर्ताको क्षमता विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीको हालसम्मको उपलब्धि, आगामी योजना तथा बीमा व्यवसायमा अभिकर्ता र कर्मचारीको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो । सहभागीहरूले आईएमई लाइफले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्दै ग्राहकको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
नवौँ वार्षिकोत्सवले कम्पनीका कर्मचारी, अभिकर्ता र व्यवस्थापनबीचको सहकार्यलाई थप मजबुत बनाउँदै आगामी दिनमा व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।










