सल्यान । जिल्लाको समग्र शैक्षिक अवस्था, विद्यालय तथा विद्यार्थीको अवस्था र आगामी शैक्षिक योजनाका विषयमा समीक्षा तथा छलफल गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा आर्थिक वर्ष २०८२ र ८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३ र ८४ को शैक्षिक नीति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाको समग्र शैक्षिक अवस्था तथा स्थानीय तहबाट सञ्चालन र कार्यान्वयन हुने सशर्ततर्फका शिक्षा सम्बन्धी कार्यक्रमका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।
स्थानीय तहले तयार गर्ने वार्षिक शैक्षिक नीति तथा कार्यक्रमका विविध पक्षमाथि समेत सहभागीबीच छलफल भएको थियो । कार्यक्रममा जिल्लाका विद्यालयको अवस्था, विद्यार्थीको शैक्षिक अवस्था, शिक्षा क्षेत्रका प्राथमिकता तथा आगामी शैक्षिक योजनाका विषयमा समीक्षा गरिएको थियो । स्थानीय तहबाट सञ्चालन भएका शिक्षा सम्बन्धी कार्यक्रमको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा पनि छलफल भएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ । त्यस्तै, विद्यालय तहमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।
स्थानीय तह र विद्यालयबीच प्रभावकारी समन्वय कायम गर्दै उपलब्ध स्रोत–साधनको उचित परिचालन गर्ने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा सल्यानका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा सामाजिक विकास शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमले स्थानीय तह तथा विद्यालय तहबाट सञ्चालन हुने शिक्षा सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने र आगामी शैक्षिक योजनालाई व्यवस्थित तथा परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख शेरबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको प्रमुख आतिथ्यता तथा सामाजिक विकास कार्यालय सल्यानका प्रमुख कृष्ण अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका सूचना अधिकारी कपिल जोशीले गरेका थिए ।









