२०८३ भदौ ८ , सोमबार

बाढीपहिरोले पढाईमा प्रभावित



जाजरकोट । लगातारको वर्षासँगै आएको बाढीपहिरोले जाजरकोटमा जनजीवन प्रभावित हुनुका साथै विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । घरबारी बगाएर विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्न विद्यालय भवन प्रयोग गर्नुपरेपछि विद्यार्थीको नियमित पढाइ रोकिएको हो। गत साउन २९ गते आएको पहिरोमा भेरी नगरपालिका दुई रिसाङमा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

पहिरोबाट विस्थापित परिवारलाई त्रिभुवन आधारभूत विद्यालय रिसाङ, विष्णु प्रावि दारनेटा र नरज्योति प्राथमिक विद्यालय कल्याणपुरमा अस्थायी रूपमा राखिएको छ । विद्यालयमै पीडित परिवार बसेपछि ती विद्यालयमा पठनपाठन अवरुद्ध भएको हो । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नजिकका बस्तीसमेत पहिरोको जोखिममा रहेकाले तत्कालका लागि विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्नुपरेको बताए ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले पनि जिल्लाका धेरै बस्ती पहिरोको जोखिममा रहेकाले पीडितलाई सुरक्षित राख्न विद्यालय प्रयोग गर्नु बाध्यता भएको बताए । भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रमोद विष्टले आगामी सातादेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । तर, त्रिभुवन आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णबहादुर शाहीले विपद्का कारण विद्यार्थीमा त्रास रहेकाले केही दिन मनोसामाजिक परामर्श आवश्यक रहेको बताए ।

भेरीका वडा नं एक देखि चार सम्म बाढीपहिरोका कारण करिब चार सय परिवार विस्थापित भएका छन् । यसैबीच, हुम्लाको ताँजाकोट गाउँपालिका पाँच स्थित मदानादेव माध्यमिक विद्यालयको छात्रावाससमेत पहिरोको उच्च जोखिममा परेको छ । छात्रावास भवनको जगनजिकै पहिरो गएपछि त्यहाँ बस्दै आएका ४६ विद्यार्थी जोखिममा छन् । पहिरोले ग्याबिन वाल र घेरबारसमेत बगाएको छ । अन्यत्र सुरक्षित बसोबासको व्यवस्था नहुँदा विद्यार्थीहरू जोखिमकै बीच छात्रावासमा बस्न बाध्य छन् । उता, रुकुमपश्चिममा भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनर्निर्माणले गति लिएको छ ।

२०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त ४३ विद्यालयमध्ये २७ वटा भवन पुनर्निर्माण भइसकेका छन् भने बाँकी १६ विद्यालय निर्माण प्रक्रियामा छन् । कर्णाली प्रदेश सरकारले विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माणका लागि ३८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । पुनर्निर्माण भएका विद्यालयका भवन प्रयोगमा आउन थालेसँगै विद्यार्थीको पठनपाठन क्रमशः सहज बन्दै गएको स्थानीय तहले जनाएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार