२०८३ भदौ ८ , सोमबार

वर्षाले भूकम्पपीडितका घर थप जोखिममा



रुकुमपश्चिम । विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त बनाएका रुकुमपश्चिमका सयौँ घर लगातारको वर्षापछि थप जोखिमपूर्ण बनेका छन् । भूकम्प गएको करिब तीन वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माणले गति लिन नसक्दा पीडितहरू जोखिमपूर्ण घरमै बस्न बाध्य भएका छन् । सानीभेरी गाउँपालिका एकका वडाध्यक्ष टेकबहादुर पुनका अनुसार साउन ३१ गतेयता परेको लगातारको वर्षाले भूकम्पले चर्किएका घर भत्किन थालेका छन् ।

भण्डारवन टोलका दलबहादुर पुनको घर वर्षाकै कारण पूर्ण रूपमा भत्किएको उनले जानकारी दिए । दिउँसो घर भत्किएकाले मानवीय क्षति हुनबाट जोगिएको उनकाे भनाइ छ । भूकम्पपछि जाजरकोट, रुकुमपश्चिम र सल्यानमा क्षति भएका घरको उचित व्यवस्थापन हुन नसक्दा धेरै घर अझै चर्किएकै अवस्थामा छन् । जोखिमपूर्ण संरचना भत्काउन र व्यवस्थापन गर्न आवश्यक जनशक्ति तथा स्रोतको अभाव हुँदा समस्या झनै बढेको स्थानीयको भनाइ छ ।

आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अस्थायी टहरा साँघुरा हुनुका साथै गर्मीमा अत्यधिक तात्ने र जाडोमा चिसो हुने भएकाले कतिपय नागरिक चर्किएका घरमै बसिरहेको बताए । लगातारको वर्षाले त्यस्ता घर जुनसुकै बेला भत्किन सक्ने भएकाले थप जनधनको क्षतिको जोखिम रहेको उहाँले उल्लेख गरे । यसैबीच, भूकम्पका कारण चिरा परेको जमिनमा पहिरोको जोखिमसमेत बढेको छ । आठबिसकोट नगरपालिका–१४ स्थित आदर्श माध्यमिक विद्यालय र स्थानीय सुग्रिप ओलीको घर पहिरोका कारण क्षतिग्रस्त भएका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले गत साता सात सय ६६ जना लाभग्राहीका लागि आवास निर्माणको पहिलो किस्ताको रकम माग गरेको छ । प्रमुख जिल्ला अधिकारी निसानराज गौतमका अनुसार आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रकम निकासाको अनुरोध गरिएको हो । प्रशासन कार्यालयको तथ्याङ्कअनुसार रुकुमपश्चिममा भूकम्पबाट घर क्षति भएका ३० हजार आठ सय ५० जनाको विस्तृत विवरण तयार गरिएको छ । पुनर्निर्माणमा भइरहेको ढिलाइका कारण वर्षायाममा पीडितको जोखिम भने अझै कायम छ ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार