हुम्ला । ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति आगलागी हुँदा महत्वपूर्ण कागजातसहित कार्यालयका विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ । राति करिब दुई बजे लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । स्थानीय नरवीर थापाका अनुसार आगलागी भएको समयमा गाउँपालिकाका केही कर्मचारीसमेत भवनमा बस्दै आएका थिए ।
आगो लागेको जानकारी पाएलगत्तै नजिकैको प्रहरी चौकी र स्थानीयवासी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट गाउँपालिकाको जिन्सी शाखा पूर्ण रूपमा जलेको छ । शाखामा राखिएका अधिकांश श्रेष्ता, अभिलेख तथा महत्वपूर्ण कागजात नष्ट भएको गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीले जानकारी दिए । लेखा शाखा र न्यायिक समितिको सचिवालयमा रहेका कागजातमा समेत क्षति पुगेको उनले बताए ।
आगलागीबाट भवनमा जडान गरिएको विद्युत्को वायरिङ तथा बल्बहरू पनि जलेका छन् । भवनको तल्लो तलामा जिन्सी शाखालगायतका कार्यालय सञ्चालनमा थिए भने माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए । गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त भवनलाई जिल्लाकै नमुना प्रशासनिक भवनका रूपमा लिइएको थियो । नयाँ भवन निर्माण हुनुअघि गाउँपालिका अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीको कारण भने अहिलेसम्म यकिन भएको छैन ।
प्रारम्भिक रूपमा विद्युत् सर्ट वा जिन्सी शाखामा राखिएका ब्याट्री पड्किएका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । कार्यालयमा जडान गरिएको सिसिटिभीको फुटेजसमेत अध्ययन गरिने प्रहरीले जनाएको छ । रातिको समयमा आगलागी भएकाले समयमै जानकारी हुन नसक्दा भवन तथा कार्यालयका महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ ।









