२०८३ भदौ १० , बुधबार

पहिरोले भत्काएको लघुजलविद्युत पाँच वर्षदेखि बन्द



हुम्ला । अदानचुली गाउँपालिका दुईमा रहेको मछ्याईनी लघुजलविद्युत आयोजना पहिरोका कारण क्षतिग्रस्त भएको पाँच वर्ष बितिसक्दा पनि मर्मत हुन नसक्दा दुई गाउँका करिब  दुई सय ५० घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन् । अदानचुली गाउँपालिका दुईका थाई र मकै गाउँका स्थानीयलाई विद्युत आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजना सञ्चालनमा आएको चार वर्षमै पहिरोले पावर हाउसमा क्षति पुर्‍याएपछि बन्द भएको हो ।

विद्युत सेवा बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका परिवार सल्लाको दियालो प्रयोग गरेर रात कटाउन बाध्य छन् भने हुनेखाने परिवारले सोलारबाट घर उज्यालो बनाउँदै आएका छन् । मकै गाउँकी स्थानीय दुम्ची पलातीले सहयोगी हातहरूको पहलमा चार वर्षसम्म नियमित बत्ती बाल्न पाए पनि पावर हाउसमा क्षति पुगेपछि पुनः अन्धकारमा बस्नुपरेको बताइन् ।

“घरमा बत्ती बालेको सम्झँदा अहिले सपना जस्तो लाग्छ,” उनले भनिन् । उनले आयोजना पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरिन् । स्थानीय हरि बुढाका अनुसार २०७७ सालमा माथिबाट आएको पहिरोले पावर हाउसमा क्षति पुर्‍याएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

पावर हाउस प्रयोग गर्न नसकिने अवस्थामा पुगेको, पोल ढलेर तारहरू समेत छरपस्ट भएको उनले बताए । उनका अनुसार आयोजनामा जडान गरिएको मेसिन भने अझै राम्रो अवस्थामा रहेको छ । मेसिन सञ्चालनयोग्य हुँदाहुँदै पनि पावर हाउससहित अन्य संरचना मर्मत नहुँदा स्थानीयले विद्युत सेवा पाउन नसकेको बुढाले बताए । गाउँपालिकालाई पटक–पटक मर्मतका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

२०७० सालमा नवीकरणीय वैकल्पिक ऊर्जा कार्यक्रम र तत्कालीन जिल्ला विकास समितिको लगानीमा निर्माण भएको आयोजना २०७३ सालदेखि सञ्चालनमा आएको थियो । स्थानीय उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त लघुजलविद्युत आयोजना ४० किलोवाट क्षमताको हो । पाँच वर्षदेखि बन्द रहेको आयोजना तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार