२०८३ असोज २५ , आइतबार

सल्यानमा वार्षिक समीक्षा सुरु, १० स्थानीय तहले सुनाए प्रगति



सल्यान । आर्थिक वर्ष २०८२ र ८३ मा सञ्चालन भएका विकास निर्माण तथा विभिन्न कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा मंगलबारदेखि जिल्ला समन्वय समितिको सभाहलमा दुईदिने वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह, संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय र गैरसरकारी संस्थाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा बजेट खर्चको अवस्था, सम्पन्न भएका योजना, निर्माणाधीन आयोजनाको प्रगति तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे समीक्षा गरिनेछ । कार्यक्रमको पहिलो दिन जिल्लाका १० वटै स्थानीय तह र दुई गैरसरकारी संस्थाले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गरेका छन् । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आर्थिक वर्ष २०८२ र ८३ मा सञ्चालन गरिएका योजना तथा कार्यक्रम र तिनको कार्यान्वयन अवस्थाबारे जानकारी गराएका थिए ।

प्रस्तुतिका क्रममा स्थानीय तहहरूले प्राप्त बजेटमध्ये भएको खर्च, सम्पन्न भएका योजनाको संख्या, सञ्चालनमा रहेका आयोजनाको अवस्था तथा लक्ष्य अनुसार काम हुन नसक्नुका कारणबारे समेत जानकारी दिएका थिए । योजना कार्यान्वयनमा देखिएका समस्या, बजेट व्यवस्थापन, जनशक्ति अभाव र अन्य चुनौतीका विषयमा पनि सहभागीबीच छलफल भएको छ ।

जिल्ला समन्वय समितिका अनुसार समीक्षा कार्यक्रमको दोस्रो दिन बुधबार जिल्लामा रहेका संघीय कार्यालय तथा प्रदेश मातहतका कार्यालयहरूले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गर्नेछन् । जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालित विकास निर्माण तथा अन्य कार्यक्रमको वास्तविक प्रगति मूल्यांकन गर्न, बजेट कार्यान्वयनको अवस्था पहिचान गर्न र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, समीक्षा कार्यक्रमबाट योजना कार्यान्वयनमा देखिएका कमजोरी पहिचान गरी आगामी आर्थिक वर्षमा प्रभावकारी रूपमा काम गर्न मार्गदर्शन मिल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार