जुम्ला । दुर्गम हिमाली जिल्ला जुम्लाका गाउँमा आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गएपछि परम्परागत खेतीपातीमा लाग्ने समय र श्रम घट्न थालेको छ । विशेषगरी कृषि मेसिन तथा उपकरणको प्रयोगले महिलाको दैनिक कार्यबोझ कम हुनुका साथै शारीरिक श्रमसमेत घटेको स्थानीयले बताएका छन् । तिला गाउँपालिका छ, सुँडीगाउँका महिलाले अहिले गहुँ चुट्न पेट्रोलबाट सञ्चालन हुने थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन् ।
विगतमा हातैले गहुँ चुट्नुपर्ने भएकाले धेरै समय र जनशक्ति आवश्यक पर्ने गरेको थियो । समूह बनाएर आलोपालो काम गर्दा पनि गहुँ चुट्ने काम सक्न लामो समय लाग्ने र शारीरिक थकान हुने गरेको स्थानीय महिलाको अनुभव छ । गाउँमा थ्रेसर मेसिन पुगेपछि भने गहुँ चुट्ने काम निकै छिटो र सहज भएको स्थानीय मायादेवी रावतले बताए । उनका अनुसार मेसिनबाट करिब एक घण्टामै ठूलो परिमाणमा गहुँ चुटेर सकिने गरेको छ । यसले समय र श्रम दुवै बचत भएको उनकाे भनाइ छ ।
पहिले हातले गहुँ चुट्दा शरीर दुख्ने, थकान हुने तथा हातखुट्टामा चोटपटकसमेत लाग्ने गरेको स्थानीय महिलाले बताएका छन् । अहिले मेसिनको प्रयोगपछि कृषि कार्यमा लाग्ने श्रम उल्लेख्य रूपमा घटेको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार जुम्लाका अन्य गाउँमा समेत गहुँ चुट्ने थ्रेसर मेसिनको प्रयोग बढ्दै गएको छ । कृषि कार्यमा प्रविधिको प्रयोग बढेपछि कम समयमा धेरै काम गर्न सकिने भएकाले किसानलाई सहज भएको छ । सुँडीगाउँका स्थानीय मानबहादुर रावतले थ्रेसर मेसिन दुर्गम गाउँका महिलाका लागि निकै उपयोगी बनेको बताए ।
कृषि कार्यमा लाग्ने समय घटेपछि महिलाले घरायसी काम, व्यक्तिगत सरसफाइ तथा बालबालिकाको पढाइमा समेत थप समय दिन सक्ने अवस्था बनेको उनकाे भनाइ छ । जुम्लाका गाउँमा कृषि प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा उत्पादनका काम सहज हुनुका साथै महिलाको श्रम र समय बचत हुने क्रम बढेको छ । यसले परम्परागत कृषि प्रणालीलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजानसमेत सहयोग पुर्याएको स्थानीयको अनुभव छ ।









