२०८३ भदौ १४ , आइतबार

डोल्पामा निःशुल्क आँखा शिविर भदौ १७ देखि



डोल्पा । मोतिबिन्दुसहित विभिन्न आँखाका समस्या पहिचान तथा उपचारका लागि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोट, त्रिपुरासुन्दरी नगरपालिका, चारिटी हेल्थ फाउन्डेसन धनगढी र आँखा अस्पताल सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । आयोजकका अनुसार भदौ १७ गते फोक्सुण्डो आधारभूत विद्यालय, खदाङबाट शिविर सुरु हुनेछ ।

भदौ १८ गते सामुदायिक स्वास्थ्य इकाइ ल्हाँ, १९ गते स्वास्थ्य चौकी फुल्चिङ, २० गते स्वास्थ्य चौकी लिकु र २१ गते आधारभूत स्वास्थ्य केन्द्र मुहुमा शिविर सञ्चालन हुनेछ । त्यस्तै, भदौ २२ गते रामशाह आधारभूत विद्यालय बन्तडी र २३ गते आधारभूत स्वास्थ्य केन्द्र रावतवाडामा शिविर सञ्चालन गरिनेछ । शिविरबाट जिल्लाका विभिन्न वडाका स्थानीयवासी लाभान्वित हुने आयोजकले जनाएको छ । शिविरमा आँखाको दृष्टि परीक्षण, विस्तृत आँखा जाँच तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

पढ्न समस्या हुने तथा दृष्टि कमजोर भएका बिरामीलाई आवश्यकता अनुसार चस्मा वितरण गरिनेछ । जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषणसमेत गरिनेछ । मोतिबिन्दु, आँखामा मासु पलाएको तथा झिल्लीसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए । आवश्यकताअनुसार आँखाका अन्य शल्यक्रिया पनि निःशुल्क गरिने उनले बताए ।

शल्यक्रिया गरिएका बिरामीलाई औषधि र सुरक्षात्मक कालो चस्मा उपलब्ध गराउनुका साथै एक हप्ता र एक महिनापछि फलोअप सेवा दिइनेछ । शिविरका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म नाम दर्ता गर्न सकिनेछ। नाम दर्ता शुल्क ३० रुपैयाँ तोकिएको छ । छनोट भएका मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भने भदौ २५ गते त्रिपुराकोट स्वास्थ्य चौकी बगरमा गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार