सुर्खेत । कृषकलाई मौरीपालनसम्बन्धी सीप प्रदान गर्दै अतिरिक्त आम्दानीको स्रोत विकास गर्ने उद्देश्यले पाँच दिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) ले नेपाल परागसेचन परियोजनामार्फत तालिम सञ्चालन गरेको हो ।
डार्विन इनिसिएटिभको आर्थिक सहयोग तथा ब्रिस्टोल विश्वविद्यालयको प्राविधिक सहयोगमा भदौ चार देखि आठ गतेसम्म वीरेन्द्रनगरमा तालिम सञ्चालन गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका २५ जना कृषक सहभागी तालिममा मौरीपालन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको परियोजना अधिकृत त्रिभुवन भट्टले जानकारी दिए । कृषकलाई व्यावसायिक मौरीपालनतर्फ आकर्षित गरी अतिरिक्त आयआर्जनमा सहयोग पुर्याउनुका साथै परागसेचक जीवको संरक्षण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।
मौरी, भँवरा, पुतलीलगायत परागसेचकको संरक्षणमार्फत कर्णाली प्रदेशमा उत्पादन हुने विभिन्न रैथाने बालीको परागसेचनमा वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ । तालिममा महको महत्व, मौरीको संरचना, रानी, कर्मी र भाले मौरीको भूमिका, घार तथा गोला व्यवस्थापन, परम्परागत र आधुनिक घारबीचको फरक, मौरी सार्ने विधि, गोला विभाजन तथा समायोजन र मौरीमा लाग्ने रोग तथा शत्रु पहिचान र नियन्त्रणबारे प्रशिक्षण दिइएको थियो ।
सहभागीलाई व्यावहारिक ज्ञान दिन वीरेन्द्रनगर १२ पदमपुरस्थित सावित्री ढकालको मौरी फार्ममा स्थलगत अवलोकनसमेत गराइएको थियो । सहभागीलाई मौरीपालनमा आवश्यक सामग्री तथा सुरक्षा टोपी पनि वितरण गरिएको थियो । कृषि विकास निर्देशनालय, सुर्खेतका प्रमुख तथा प्रशिक्षक चित्रबहादुर रोकायले कृषकको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनका अनुसार पछिल्लो समय कर्णालीमा मौरीपालन गर्ने कृषकको संख्या बढ्दै गएको छ ।
मौरीपालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले मौरीपालनले कृषकको आम्दानी बढाउनुका साथै बाली उत्पादन र परागसेचनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले स्थानीय मौरीको संरक्षण र व्यवस्थित व्यवस्थापनमा ध्यान दिँदै व्यावसायिक मौरीपालनतर्फ लाग्न कृषकलाई आग्रह गरे ।









