२०८३ भदौ १४ , आइतबार

सडक सुरक्षामा वीरेन्द्रनगरको नयाँ योजना



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो सवारी चाप र सडक दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले सडक सुरक्षा योजना कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले सडक पूर्वाधार सुधारसँगै नागरिकमा सडक प्रयोगसम्बन्धी सचेतना बढाउने कार्यक्रम अघि बढाउने जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सुरक्षित र व्यवस्थित सडकका लागि पूर्वाधार निर्माणसँगै सडक अनुशासनमा समेत जोड दिइने बताए ।

सडक विकासको आधारभूत पूर्वाधार भए पनि यात्रु, चालक तथा अन्य सडक प्रयोगकर्ताको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढिरहेको उनकाे भनाइ छ । नगरपालिकाका इन्जिनियर यज्ञबहादुर कार्कीका अनुसार वीरेन्द्रनगरमा तीव्र सहरीकरणसँगै जनसंख्या र सवारी साधनको चाप बढेको छ । साँघुरा सडक, अव्यवस्थित पार्किङ तथा सडक प्रयोगमा देखिएको हेलचेक्र्याइँले जोखिम थप बढाएको उनले बताए ।

नगरपालिकाले बढी भीड हुने क्षेत्रमा सडक बत्ती, जेब्रा क्रसिङ, साइकल लेन र पैदल यात्रुका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने तयारी गरेको छ । सुरक्षित रूपमा सडक पार गर्न थप जेब्रा क्रसिङ निर्माण गर्ने योजना पनि रहेको जनाइएको छ । तर मुख्य बजार क्षेत्रका कतिपय जेब्रा क्रसिङसमेत प्रभावकारी रूपमा प्रयोग हुन सकेका छैनन् । पैदल यात्रुले जथाभावी बाटो काट्ने र सवारी चालकले जेब्रा क्रसिङ नजिक गति कम नगर्ने समस्या रहेको स्थानीयको गुनासो छ ।

वीरेन्द्रनगर छ का रामबहादुर सार्कीले फुटपाथमा व्यवसायीले सामान राख्दा पैदल यात्रु मूल सडकबाट हिँड्न बाध्य भएको बताए । स्थानीय शिवराम चौलागाईंले सडक अनुशासन कायम गर्न नियमित निगरानी र नियम उल्लङ्घन गर्नेलाई कारबाही आवश्यक रहेको बताए । नगरपालिकाले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके दुर्घटना तथा त्यसबाट हुने मानवीय र भौतिक क्षति घटाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार