२०८३ असोज २९ , बिहीबार

लुम्बिनी–रारा राजमार्ग अवरुद्ध, कुशे जाने सडक ठप्प



जाजरकोट । लगातारको वर्षापछि खसेको पहिरोले जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्नुका साथै सडकको केही भाग बगेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो । पहिरोका कारण रिसाङ हुँदै कुशे गाउँपालिकातर्फ सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । सडक बन्द भएपछि स्थानीयवासी तथा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।

सदरमुकाम खलङ्गासम्म दैनिक कामका लागि जाने स्थानीयसमेत जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएका छन् । भेरी नगरपालिका दुईका वडाध्यक्ष भीमबहादुर कार्कीका अनुसार सडकमा ठूलो पहिरो खसेको र सडकको भागसमेत बगेकाले तत्कालै यातायात सञ्चालन गर्न कठिनाइ भएको छ । घटनास्थलमा वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको उनले बताए । यसअघि पनि साउन २९ गते सोही आसपास क्षेत्रमा ठूलो पहिरो खसेपछि लामो समयसम्म सडक अवरुद्ध भएको थियो ।

पटक–पटक पहिरो खस्दा कुशे गाउँपालिका सडक सञ्जालबाट प्रभावित हुँदै आएको छ । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले साउनदेखि नै पालिकातर्फ जाने सडक अवरुद्ध हुँदा स्थानीयले ठूलो सास्ती खेप्नुपरेको बताए । वर्षायाममा सडक अवरुद्ध हुँदा सामान्य आवतजावतका लागि समेत दुई दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था सिर्जना भएको उनकाे भनाइ छ । लगातारको वर्षाका कारण सडक खुलाउन थप चुनौती देखिएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले अवरुद्ध सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । राजमार्ग अवरुद्ध हुँदा कुशे क्षेत्रका स्थानीयको दैनिक आवतजावतसँगै अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या परेको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार