२०८३ भदौ १५ , सोमबार

हुम्लामा एक वर्षमै २० विद्यालय भवन निर्माण



हुम्ला । आर्थिक वर्ष २०८२ र ०८३ मा २० वटा नयाँ विद्यालय भवन निर्माण सम्पन्न गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयले जिल्लाका छवटै गाउँपालिकामा विद्यालय भवन निर्माण गरेको हो । विद्यालयको आवश्यकता र मागका आधारमा योजना तर्जुमा गरी निर्माण गरिएका भवनमा दुई, तीन, चार र छ कोठासम्म रहेका छन् ।

सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहका अनुसार अधिकांश भवनको निर्माण कार्य छ देखि १० महिनाभित्र सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएका भवन विद्यालयलाई हस्तान्तरण भएसँगै सञ्चालनमा समेत आएका छन् । २० वटा भवनमा गरी ४६ वटा कक्षा कोठा निर्माण भएका छन् । नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा पठनपाठन गर्न सहयोग पुगेको कार्यालयले जनाएको छ ।

जिल्लाको सिमकोट गाउँपालिकामा तीन, खार्पुनाथमा छ, सर्केगार्डमा तीन, चङ्खेलीमा तीन, अदानचुलीमा चार र ताँजाकोट गाउँपालिकामा एक वटा विद्यालय भवन निर्माण गरिएको छ । सामाजिक विकास कार्यालयका सबइन्जिनियर धर्मराज बोहराका अनुसार सबै भवन पक्की तथा भूकम्प प्रतिरोधी डिजाइनमा निर्माण गरिएका छन् । यसअघि माटो र ढुङ्गाको गाह्रो प्रयोग गरी बनाइएका विद्यालय भवनको विकल्पका रूपमा आरसिसी संरचनाका भवन निर्माण गरिएकाले विद्यालय भवनको सुरक्षा र टिकाउपनमा समेत सुधार हुने अपेक्षा गरिएको छ ।

निर्माण गरिएका विद्यालय भवनको लागत ३० लाखदेखि ९० लाख रुपैयाँसम्म रहेको छ । २० वटा भवन निर्माणका लागि कुल २१ करोड ३३ लाख ३२ हजार छ सय ७४ रुपैयाँ खर्च भएको सामाजिक विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३० लाख रुपैयाँभन्दा कम लागतका भवन विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएका छन् भने ३० लाख रुपैयाँभन्दा बढी लागत भएका भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियामार्फत टेण्डर आह्वान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार