रुकुम पश्चिम । चौरजहारी नगरपालिका ११ का युवाहरूले परम्परागत मेलाका लागि संकलन तथा सहयोगबाट प्राप्त रकममध्ये बचत भएको रकम एक गम्भीर बिरामीको उपचारका लागि हस्तान्तरण गरेका छन् । वडाको नेप्टेकाँडास्थित पिपलबोट खेलमैदानमा भदौ १२ गते लागेको परम्परागत मेलाको अवसरमा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो । सोही कार्यक्रमका लागि जुटाइएको रकममध्ये खर्च कटाएर बाँकी रहेको १० हजार दुई सय ५० रुपैयाँ बिरामी दलजित ओलीको उपचारका लागि सहयोग गरिएको हो ।
प्रेसरका कारण गम्भीर बिरामी भई स्वास्थ्य अवस्था कमजोर बनेका नेप्टेकाँडा निवासी ओलीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले युवाहरूले उक्त रकम उनकी श्रीमती रबी ओलीलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् । स्थानीय युवा भिमबहादुर डाँगी, दिपेन्द्र ओलीलगायतको अगुवाइमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोगी दिपेन्द्र ओलीका अनुसार आर्थिक अभाव र अशक्तताका कारण थप उपचार गर्न नसकी घरमै थलिएका बिरामीको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले मेलाबाट रकम बचत गरिएको हो । मेलाका लागि देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिले सहयोग उपलब्ध गराएका थिए । खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनमा आवश्यक खर्च कटाएर बाँकी रकम सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरिएको ओलीले बताए ।
प्रेसरका कारण ब्रेनमा समेत समस्या देखिएपछि दलजित ओलीलाई नेपालगञ्जमा सामान्य उपचार गरिएको थियो । तर आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न नसकी उनी घर फर्किनुपरेको परिवारले जनाएको छ । हाल ओली दम्पती आर्थिक समस्याका कारण थप उपचारको अभावमा कठिन अवस्थामा रहेको बताइएको छ । स्थानीय युवाहरूले बिरामी ओलीको थप उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।









