दैलेख । लगातार भइरहेको वर्षाका कारण दैलेखका नदी तथा खोलाको बहाव बढेपछि विभिन्न बजार र बस्ती बाढी तथा डुबानको जोखिममा परेका छन् । नदीकिनार र खोलाको आसपास रहेका बजारमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । नौमुले बजार, बेस्तडा बजार, तल्लो डुङ्गेश्वर, चुप्रा, माथिल्लो डुङ्गेश्वर, छामघाट, लोहोरे, राकम कर्णाली, पाल्तडा र रामघाट बजार बाढीको जोखिममा रहेका छन् ।
लामो समयसम्म पानी परिरहेकाले नदी तथा खहरे खोलामा अचानक पानीको बहाव बढ्न सक्ने र आसपासका बस्तीमा पानी पस्न सक्ने खतरा रहेको जनाइएको छ । ठाँटीकाँध गाउँपालिकाको रामघाट बजार विगतमा पनि बाढीबाट प्रभावित क्षेत्र हो । कर्णाली नदीको बहाव बढ्दा बस्ती तथा बजार क्षेत्रमा पानी पस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् ।
खहरे खोलामा आउने आकस्मिक बाढीले समेत घर, पसल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउन सक्ने उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रवणकुमार विकले जोखिमयुक्त क्षेत्रमा नागरिकलाई सचेत रहन आग्रह गरिएको बताए । उनका अनुसार जिल्लाका ११ स्थानीय तहका केन्द्र तथा कर्णाली राजमार्ग आसपासका बजारमा विशेष सतर्कता आवश्यक छ ।
लगातारको वर्षाले ग्रामीण सडक, पुल र विद्युत् सेवासमेत प्रभावित हुन सक्ने भएकाले स्थानीय तहलाई पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी बढाएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले सबै स्थानीय तहलाई आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।









