२०८३ भदौ १५ , सोमबार

जुम्लामा दैनिक ९० क्विन्टल चामल बिक्री



जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा हाल एक हजार नाै सय क्विन्टल चामल मौज्दात रहेको छ । जिल्लामा खाद्यान्नको माग बढिरहेका बेला नेपालगन्जबाट नियमित ढुवानी भइरहेकाले मौज्दात सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले जिल्लामा पाँच हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ । सोहीअनुसार खाद्यान्न ढुवानीलाई निरन्तरता दिइएको उनले बताए ।

जुम्लामा पछिल्लो समय चामलको माग बढेको छ । कार्यालयका अनुसार दैनिक करिब ९० क्विन्टलसम्म चामल बिक्री हुने गरेको छ । मागअनुसार खाद्यान्न उपलब्ध गराउन नेपालगन्जबाट ढुवानीलाई तीव्रता दिइएको प्रमुख जोशीले जानकारी दिए । खाद्य कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर साउन २८ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ ।

उपभोक्तालाई राहत दिने उद्देश्यले विभिन्न प्रकारका चामलमा प्रतिबोरा एक सय २५ रुपैयाँ छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । हाल कम्पनीले अरुवा मोटा चामल प्रतिबोरा एक हजार चार सय रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार चार सय २५ रुपैयाँ, मध्यम चामल एक हजार चार सय ५० रुपैयाँ र स्टिम जिरा चामल दुई हजार एक सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

चामलसँगै खाद्य कम्पनीको शाखाबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेलसमेत बिक्री हुँदै आएको छ । सहुलियत पसल सञ्चालन भएपछि उपभोक्ताले नियमितभन्दा केही सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाएका छन् । खाद्य कम्पनीले जिल्लामा खाद्यान्नको अभाव हुन नदिन मौज्दात व्यवस्थापनसँगै नियमित ढुवानीलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार