दैलेख । दैलेखका कृषकले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्ने उद्देश्यले कृषक समूह तथा कृषि सहकारी संस्था र सुर्खेतका थोक क्रेता तथा व्यापारीबीच खरिद–बिक्री सम्झौता नवीकरण गरिएको छ । सेवक नेपालको सहजीकरणमा भएको सम्झौताले किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता कम हुने र उत्पादक तथा क्रेताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने अपेक्षा गरिएको छ ।
उज्यालो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष झमलाल पौडेलले सम्झौतापछि किसानले उत्पादन गरेका फलफूल तथा तरकारीको बजारीकरण सहज हुने बताए । उत्पादनको बजार सुनिश्चित हुँदा किसानलाई व्यावसायिक खेतीतर्फ थप प्रोत्साहन मिल्ने उनकाे भनाइ छ ।
सम्झौताअनुसार सुर्खेतको पुजा सब्जी मन्डीले दुल्लु नगरपालिका ११ तोरायास्थित रानीवन तोराया अर्गानिक कृषि सहकारी संस्थाले उत्पादन गरेको सुन्तला खरिद गर्नेछ । त्यस्तै, दुल्लु चार शान्तिबजारको नवजागरण फलफूल, ताजा तरकारी तथा पशुपालन कृषक समूहले पनि पुजा सब्जी मन्डीसँग सुन्तला बिक्री गर्ने सम्झौता गरेको छ ।
भैरवी गाउँपालिका तिन चगत्रा कृषि तथा पशुपालन सहकारी संस्था र वीरेन्द्रनगरस्थित शाही तरकारी, फलफूल तथा माछा–मासु सप्लायर्सबीच भिण्डी, चिचिण्डा, काँक्रा, सिमी, खुर्सानी, बन्दा, काउली, मकै बोडी, टमाटर, आलु, प्याज, लसुन र अदुवालगायत उपज खरिद गर्ने सम्झौता भएको छ । भैरवी–सात कुसापानीको उज्यालो साना किसान कृषि सहकारी संस्थाले आलु, टमाटर, पिँडालु, किवी र सुन्तला बिक्रीका लागि सोही सप्लायर्ससँग सम्झौता गरेको छ ।
नारायण नगरपालिका दुईको कृति देवल बहुउद्देश्यीय कृषि सहकारी संस्था र रोशन तरकारी तथा फलफूल पसलबीच पनि विभिन्न तरकारी तथा फलफूल खरिद–बिक्री सम्झौता भएको छ । यसैगरी, जुनेली कृषक समूह र देवकोटा सब्जी मन्डीबीच आलु, काउली, बन्दा, मुला र सिमी खरिद गर्ने सम्झौता गरिएको छ । चगत्रा सहकारीका अध्यक्ष मोतिराम अधिकारीले बारीबाटै कृषि उपज बिक्री हुने वातावरण बने किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने बताए ।









