सुर्खेत । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सुर्खेतस्थित मार्शल जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्सले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । स्टोर्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
विपद्को समयमा पीडितलाई राहत पुर्याउने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरिएको स्टोर्सले जनाएको छ । बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला देखाइने एकता, सहयोग र भाइचाराले प्रभावित परिवारलाई राहत पुग्नुका साथै समाजमा मानवीय भावना बलियो बनाउने स्टोर्सको भनाइ छ ।
रसुवामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा समुदायले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन् । सोही क्रममा मार्शल जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्सले पनि आफ्नो सामाजिक दायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो । स्टोर्सले विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै आफ्नो क्षमता र सामर्थ्यअनुसार प्रभावित नागरिकलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।









