२०८३ भदौ २९ , सोमबार

हिल्सा मैत्री पुल उद्घाटनका लागि चीन तयार



हुम्ला । नेपाल–चीन सीमा हिल्सामा निर्माण सम्पन्न भएको नेपाल–चीन मैत्री पुल सञ्चालनमा ल्याउन चिनियाँ पक्षले तत्परता देखाएको छ । पुल उद्घाटनका लागि चीन तयार रहे पनि नेपालले आवश्यक समय र व्यवस्थापन मिलाउनुपर्ने जनाएको छ । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार पछिल्लो एक महिनादेखि चिनियाँ पक्षले नेपाली अधिकारीहरूलाई पुल उद्घाटनको तयारी गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेपछि चीनले आफ्नोतर्फ पुलमा बार लगाएर आवतजावत रोकिदिएको छ ।

चिनियाँ पक्षको आग्रहपछि यारी नाका भन्सार कार्यालयले पुल उद्घाटनका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय हुम्लासहित सम्बन्धित निकायलाई जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले पनि पुल सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण पछिल्लो समय सरकारी ध्यान त्यता केन्द्रित भए पनि अब हिल्सा पुल उद्घाटनलाई प्राथमिकता दिने तयारी रहेको उनकाे भनाइ छ ।

पुल सञ्चालनमा आएपछि हिल्सा नाकाबाट व्यापारिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ । चीनले हिल्सा नाकाबाट नेपालतर्फ आयातसँगै निकासीका लागि समेत अनुमति दिइसकेको जनाएको छ । पुल सञ्चालन भएपछि मालवाहक कन्टेनर सिधै नेपाली सीमासम्म आउन सक्नेछन् भने क्वारेन्टाइन प्रक्रिया पूरा गरेका नेपाली उत्पादन पनि सहज रूपमा चिनियाँ बजारतर्फ लैजान सकिनेछ ।

हाल पुल सञ्चालनमा नआएकाले नेपालतर्फ निर्माण गरिएको बेलिब्रिजबाट सवारीसाधन आवतजावत गरिरहेका छन् । स्थानीय बासिन्दा तथा पर्यटक भने झोलुङ्गे पुल प्रयोग गर्न बाध्य छन् । गत मङ्सिरमै पुल निर्माण सम्पन्न भए पनि उद्घाटन नहुँदा प्रयोगमा आउन सकेको छैन । चीनले पुलसँगै नेपालतर्फ करिब तीन सय मिटर सडकसमेत निर्माण गरिसकेको छ । गत वैशाख १० गते नेपाल र चीनका स्थानीय प्रतिनिधिबीच पुल सञ्चालनबारे छलफल भए पनि त्यसबेला उद्घाटनको मिति तय हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार