सल्यान । विद्यार्थीहरू मनोरञ्जनसँगै सामाजिक सेवामा पनि सक्रिय देखिएका छन् । बन्गाड कुपिण्डे नगरपालिका एक देवस्थलस्थित कृष्ण बोर्डिङ स्कुलका विद्यार्थीले सडक नाटक प्रदर्शन गरेर भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गरेका छन्। बालदिवसको अवसर पारेर विद्यार्थीले बाढीपहिरोबाट हुने क्षति र विपद्बाट जोगिने उपाय समेटिएको ‘प्रलय’ नामक सचेतनामूलक सडक नाटक विभिन्न बजारमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीले सुर्खेतको सिम्ता गाउँपालिकास्थित जामुने बजार, गोजिबजार तथा बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा नाटक देखाएर ३७ हजार सात सय ७७ रुपैयाँ संकलन गरेका छन् । विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिसकेको जनाएको छ । विद्यार्थीले यसअघि पनि आफ्नो खाजा खर्च कटाएर बाढीपीडितका लागि २७ हजार रुपैयाँ सहयोग गरेका थिए ।
विद्यालयका शिक्षक वीरेन्द्र बुढाका अनुसार सानो सहयोगले पनि विपद्मा परेकालाई ठूलो राहत पुग्ने भएकाले विद्यार्थीलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्दै अभियान सञ्चालन गरिएको हो । अब श्रीनगर, खलंगा, मेहेलकुना, बोटेचौर र वीरेन्द्रनगरमा समेत सडक नाटक प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए । कक्षा नाै का विद्यार्थी मौसम बुढाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न बिदाको समय सदुपयोग गर्दै विभिन्न स्थानमा नाटक प्रदर्शन गरिएको बताए ।
अर्का विद्यार्थी रोहित उपाध्यायले बाढीपीडितलाई सहयोग गर्न स्थानीयलाई प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको बताए । यसैबीच कपुरकोट गाउँपालिका पाँच रीमस्थित जीवन ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले पनि बाढीपीडितका लागि ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गरेका छन् । प्रधानाध्यापक भूपाल साहुका अनुसार विद्यार्थीको सहयोगमा शिक्षकहरूले समेत योगदान गरेका छन् । विद्यार्थीको अभियानले अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितका लागि सहयोग गर्न प्रेरित गरेको विद्यालयले जनाएको छ ।









