रुकुम पश्चिम । सदरमुकाम मुसिकोटमा निर्माण सुरु भएको बसपार्क चार वर्षभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । बसपार्क अधुरै रहँदा सार्वजनिक सवारीसाधन सडक किनार तथा निजी जग्गा भाडामा लिएर पार्किङ गर्नुपर्ने बाध्यता छ । मुसिकोट नगरपालिका एक भेरीमा २०७८ फागुनदेखि बसपार्क निर्माण सुरु गरिएको थियो ।
पहिलो चरणमा टिकट काउन्टरसहितको दुईतले भवन, सार्वजनिक शौचालय र सवारी पार्किङका लागि फिल्ड निर्माण गरी आर्थिक वर्ष २०८२ मा नगरपालिकालाई हस्तान्तरण गरिएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर टीकाराम पोखरेलले जानकारी दिए । पहिलो चरणको कामका लागि एक करोड ५९ लाख ७२ हजार तीन सय ८५ रुपैयाँ खर्च भएको थियो । तर बसपार्कसम्म पुग्ने सडक पर्याप्त फराकिलो नहुनु तथा पार्किङ क्षेत्र आरसीसी ढलान हुन बाँकी रहेकाले ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।

मुसिकोट नगरप्रमुख महेन्द्र केसीका अनुसार बसपार्क पूर्ण रूपमा सञ्चालन गर्न थप बजेट आवश्यक छ । नगरपालिकाको आफ्नै स्रोतबाट ठूलो आयोजना सम्पन्न गर्न कठिन भएकाले संघीय सरकारसँग बजेट माग गरिएको उनले बताए । गत आर्थिक वर्षमा सहरी विकास अन्तर्गत तीन करोड रुपैयाँ बजेट विनियोजन भए पनि पछिल्लो परिस्थितिका कारण बजेट कटौती भएको नगरपालिकाको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा सदरमुकामका सडकमा सवारीसाधन जथाभावी रोकिँदा यातायात व्यवस्थापनसँगै दुर्घटनाको जोखिमसमेत बढेको छ ।
यातायात व्यवसायीले निजी जग्गा भाडामा लिएर बस राख्नुपर्दा सवारीसाधनको सुरक्षामा समेत समस्या भएको बताएका छन् । स्थानीय प्रशासनले सडकमा जथाभावी सवारी रोक्न नदिने तथा मालवाहक गाडीका लागि समय तोक्ने व्यवस्था गरे पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । नगरपालिकाले यस वर्ष पनि संघीय सरकारसँग बजेट माग गर्दै बसपार्कलाई छिटो सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।








