कालीकोट । सदरमुकाम मान्म बजार प्रवेश गर्ने मुख्य सडक लामो समयदेखि अवरुद्ध भएपछि नेपाली सेना मर्मतमा जुटेको छ । खाँडाचक्र नगरपालिका एकमा नयाँ प्रशासकीय भवन निर्माणका क्रममा गत फागुनदेखि गएको पहिरोका कारण सडक भासिएपछि आवागमन प्रभावित हुँदै आएको थियो । नगरपालिकाले सडक मर्मतमा चासो नदिएपछि देवीबक्स गुल्म कालीकोटको टोलीले सडक खुलाउने काम थालेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सेनासहित जिल्लाका सुरक्षा निकायको समन्वयमा सडक मर्मत अघि बढाइएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए । प्रशासकीय भवन निर्माणका लागि जग खन्ने क्रममा पहिरो खसेर मुख्य सडकसँगै आसपासका घरसमेत जोखिममा परेका छन् । पहिरोका कारण तीन घर बगिसकेका छन् भने १४ भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।
नगरपालिकाले भवन निर्माणका लागि दुईवटा एस्काभेटर प्रयोग गरी जग खन्दा सडकको संरचना कमजोर बनेको र त्यसपछि पहिरोको समस्या बढ्दै गएको बताइएको छ । सडक डिभिजन कार्यालयले निर्माण रोक्न दुईपटक पत्राचार गरे पनि काम नरोकिएको जनाएको छ । सडक डिभिजन कार्यालयका अनुसार भवन निर्माणस्थल राष्ट्रिय सडकको सीमासँग जोडिएको क्षेत्रमा रहेकाले भविष्यमा सडक विस्तारमा समेत समस्या आउन सक्नेछ ।
कार्यालयका निमित्त प्रमुख श्रवणकुमार महताराले सडक मापदण्डअनुसार निर्माण गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिएका कारण अहिले जोखिम बढेको बताए । निर्माणस्थलको भू–बनोटसमेत भवन निर्माणका लागि उपयुक्त नरहेको प्राविधिकको भनाइ छ । जोखिम बढेपछि सम्बन्धित निकायले भवन निर्माण रोक्न निर्देशनसमेत दिएको थियो । अहिले सेनाले सडक मर्मत थालेपछि बजारवासीलाई केही राहत हुने अपेक्षा गरिएको छ ।









