दैलेख । दैलेखमा क्षयरोग (टीबी) सङ्क्रमणको अवस्था पछिल्लो एक वर्षमा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १४४ जना क्षयरोगका बिरामी भेटिएकामा आव २०८२/८३ मा यो सङ्ख्या बढेर एक सय ६४ पुगेको हो । यस अवधिमा जिल्लामा २० जना नयाँ बिरामी थपिएका छन् ।
जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीका अनुसार एक सय ६४ जना क्षयरोगका बिरामीमध्ये नौ जना १५ वर्षमुनिका बालबालिका छन् । क्षयरोग सङ्क्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कणको सम्पर्कबाट सर्न सक्ने भएकाले सङ्क्रमितको सम्पर्कमा रहेका बालबालिका बढी जोखिममा पर्ने गरेको उनले बताए ।
अधिकारीका अनुसार सङ्क्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका ३२ जना बालबालिकामा सम्भावित क्षयरोगको अवस्था देखिएको थियो । थप अनुसन्धान तथा परीक्षण गर्दा तीमध्ये दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । स्थानीय तहगत तथ्याङ्कअनुसार दुल्लु नगरपालिकामा सबैभन्दा धेरै २८ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
आठबिस नगरपालिकामा २३, ठाँटीकाँध गाउँपालिकामा २१, गुराँस गाउँपालिकामा २१, नारायण नगरपालिकामा १७, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १६ र भगवतीमाई गाउँपालिकामा १५ जना बिरामी छन् । त्यस्तै, भैरवी र डुङ्गेश्वर गाउँपालिकामा आठ–आठ, नौमुले गाउँपालिकामा चार तथा महाबु गाउँपालिकामा तीन जना क्षयरोगका बिरामी भेटिएको कार्यालयले जनाएको छ ।
अधिकारीका अनुसार क्षयरोगलाई सामाजिक, आर्थिक तथा स्वास्थ्य अवस्थाको सूचकका रूपमा समेत हेर्ने गरिन्छ । सामाजिक तथा आर्थिक अवस्था कमजोर भएका परिवारमा पोषणको कमी र स्वास्थ्य सेवामा पहुँचको अभावले क्षयरोगको जोखिम बढाउन सक्ने उनकाे भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा क्षयरोगका बिरामीको सङ्ख्या उतारचढावपूर्ण देखिएको छ । आव २०८०/८१ मा एक सय ९१ जना बिरामी भेटिएकामा आव २०८१/८२ मा घटेर १४४ पुगेको थियो । त्यसपछि आव २०८२/८३ मा पुनः बढेर एक सय ६४ पुगेको हो ।









