२०८३ भदौ २९ , सोमबार
फ्रन्ट पेज

भेरी करिडोरमा ३२ करोडका पाँच पुल ६ वर्षमा पनि बनेनन्

२०७७ सालमा करिब ३१ करोड ९७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएका पुलमा निर्माण व्यवसायीले ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिइसके पनि तीन पुलको प्रगति ६ प्रतिशत र दुई पुलको १२ प्रतिशत मात्रै छ । कतिपय पुलमा काम नै सुरु भएको छैन भने कतै पिलरको आधा संरचना मात्र बनेको छ । निर्धारित समयभित्र काम सम्पन्न नभएपछि दुवै ठेक्काको म्याद २०८३ पुस ३० गतेसम्म थपिएको छ ।


सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड खण्डमा निर्माणाधीन पाँच वटा मोटरेबल पुल ठेक्का सम्झौता भएको करिब ६ वर्ष पुग्न लाग्दा पनि कुनै एउटा पुलसमेत पूरा हुन सकेको छैन । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका पुलहरूमा कतै काम नै सुरु भएको छैन भने कतै पिलरको जग र आधा संरचना बनाएर निर्माण रोकिएको छ ।

जाजरकोटलाई डोल्पासँग जोड्ने भेरी करिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो सडक योजना) अन्तर्गत सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । करिडोरमार्फत जाजरकोट हुँदै डोल्पासम्म यातायात पहुँच विस्तार हुँदै गए पनि सडकलाई सहज र सुरक्षित बनाउने महत्वपूर्ण संरचना मानिएका पुलहरू भने वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।

नलगाड खण्डमा निर्माणाधीन पाँच पुलमध्ये मैदेखोला, तात्रखोला र ताक्सुगाड पुल निर्माणको जिम्मा रायामाझी क्याराभान जेभी, काठमाडौंले पाएको थियो । कम्पनीसँग २०७७ माघ १ गते १३ करोड ५४ लाख ३८ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार निर्धारित अवधिमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि झन्डै ६ वर्ष बितिसक्दा यी तीन पुलको भौतिक प्रगति जम्मा ६ प्रतिशतमा सीमित छ । निर्माण व्यवसायीले पेश्की तथा रनिङ बिलमार्फत हालसम्म १ करोड ८३ लाख ९३ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

तर ताक्सुगाड खोलामा अहिलेसम्म पुल निर्माणको काम नै सुरु भएको छैन । मैदेखोलामा एउटा पिलरको जग खनिएको छ भने तात्रखोलामा एउटा पिलरको आधा भाग मात्र निर्माण भएको छ । पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले करोडौँ रुपैयाँको ठेक्का सम्झौता गरे पनि अपेक्षित गतिमा काम अघि बढाउन नसकेको देखिन्छ ।

यस्तै झुप्रेखोला र नलगाड खोलामा निर्माण हुने पुलको अवस्था पनि उस्तै छ । यी दुई पुल निर्माणका लागि क्याराभान हिराचन जेभी, काठमाडौंसँग २०७७ माघ २ गते १८ करोड ४३ लाख ४ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

यी दुई पुलको पनि निर्माण कार्य अत्यन्त सुस्त छ । हालसम्म भौतिक प्रगति १२ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीले पेश्की तथा रनिङ बिलमार्फत २ करोड ७५ लाख १० हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । तर झुप्रेखोलामा अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन भने नलगाड खोलामा एउटा पिलरको आधा भाग मात्रै उठाइएको छ ।

यसरी हेर्दा पाँच वटा पुल निर्माणका लागि सम्झौता भएको कुल रकम ३१ करोड ९७ लाख ४३ हजार २ सय रुपैयाँ पुग्छ । त्यसमध्ये निर्माण व्यवसायीहरूले हालसम्म ४ करोड ५९ लाख ३ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेका छन् । करोडौँ रुपैयाँ भुक्तानी भइसके पनि पाँच वटै पुलको समग्र निर्माण प्रगति भने निकै न्यून छ ।

पुल निर्माणमा भएको ढिलाइले भेरी करिडोरको सडक यातायातलाई समेत प्रत्यक्ष असर पारेको छ । सडकको ट्र्याक खुले पनि नदी तथा खोलामा पुल नहुँदा वर्षायाममा आवागमन प्रभावित हुने गरेको छ । कतिपय स्थानमा सवारीसाधनलाई जोखिमपूर्ण रूपमा खोला तथा नदी पार गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । पुल निर्माण सम्पन्न भए करिडोरमा यातायात थप सहज, सुरक्षित र नियमित हुने अपेक्षा गरिएको छ ।

म्याद थपिँदै, कामको गति बढेन

निर्माण व्यवसायीले निर्धारित समयमा काम पूरा नगरेपछि दुवै ठेक्काको म्याद पुनः थप गरिएको छ । दुवै ठेक्काको पछिल्लो म्याद २०८३ पुस ३० गतेसम्म कायम गरिएको छ । तर विगतमा पटक–पटक समय बित्दा पनि निर्माणले गति लिन नसकेको अवस्थामा थपिएको म्यादभित्र काम सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त छैनन् । उनीहरूका लागि समस्या पुल कहिले बन्छ भन्ने मात्रै होइन, वर्षौँदेखि अलपत्र आयोजना कहिले सञ्चालनमा आउँछ र त्यसबाट वास्तविक लाभ कहिले लिन पाइन्छ भन्ने हो ।

निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गराउन प्रभावकारी अनुगमन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको माग छ । काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुको सट्टा पटक–पटक म्याद थप्ने प्रवृत्तिले नै यस्ता आयोजना वर्षौँसम्म अलपत्र पर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार