सुर्खेत । संविधान दिवसको अवसरमा वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल बुलबुले पार्क परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजित वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख विवेक भट्टसहित प्रदेश कार्यालयका कर्मचारी, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, संस्थाका सदस्य, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संविधान दिवस अधिकारको उत्सव मात्र नभई नागरिकका कर्तव्य र जिम्मेवारी स्मरण गर्ने महत्वपूर्ण अवसर भएको बताए । वातावरण संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उनले वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा मात्र नभई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिले सार्वजनिक स्थलमा गरिएको वृक्षरोपणले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिएको बताए। उनीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वृक्षरोपणपछि सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा सहभागीहरूले एक–आपसमा संविधान दिवसको शुभकामनासमेत आदानप्रदान गरेका थिए।







