२०८३ असोज ४ , आइतबार

हुम्लाबाट दुई करोड १६ लाख रुपैयाँको स्याउ निकासी



हुम्ला । जिल्लाकाे दक्षिणी क्षेत्रबाट यस वर्ष दुई करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्ला बाहिर निकासी भएको छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख चूडामणि पन्तका अनुसार हालसम्म दुई करोड १६ लाख रुपैयाँ बराबरको स्याउ विभिन्न जिल्लामा पठाइएको छ । दक्षिणी हुम्लाका ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकामा उत्पादन भएको स्याउ व्यापारीले किसानको बगैँचामै पुगेर खरिद गरिरहेका छन् ।

हाल किसानबाट प्रतिकेजी करिब ६० रुपैयाँका दरले स्याउ खरिद भइरहेको छ । उत्पादन राम्रो भएकाले यस वर्ष किसानले स्याउ बिक्रीबाट उल्लेख्य आम्दानी गर्न थालेका छन् । ताँजाकोट गाउँपालिका पाँचका किसान गोपाल बुढाका अनुसार स्याउको बगैँचा लगाएका केही किसानले यस वर्ष १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । विगतमा सडक यातायातको पहुँच नहुँदा बगैँचामा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन नसक्दा ठूलो परिमाणमा कुहिने गरेको थियो ।

कतिपय किसानले बिक्री गर्न नसकेको स्याउ पशुवस्तुलाई खुवाउनुपर्ने अवस्था थियो । गत वर्षदेखि सडकमार्फत हुम्लाको स्याउ जिल्ला बाहिर पठाउन थालिएपछि किसानलाई बजारको पहुँच बढेको छ । यसले स्याउ खेतीबाट हुने आम्दानी बढाउन सहयोग पुगेको किसानहरूको भनाइ छ । व्यापारीले स्थानीयस्तरमै स्याउ खरिद गर्न थालेपछि किसानलाई उत्पादन बजारसम्म लैजाने झन्झटसमेत कम भएको छ । यसैबीच, हुम्लाको माथिल्लो क्षेत्रमा भने स्याउ पाक्न अझै बाँकी छ ।

खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले त्यहाँको स्याउ असोज १५ गतेपछि मात्र टिप्ने तयारी गरिएको कृषि विकास कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा स्याउ टिप्न सुरु भएपछि हुम्लाबाट बाहिरिने स्याउको परिमाण अझ बढ्ने अपेक्षा गरिएको छ । सडक पहुँच र बजार विस्तारसँगै हुम्लामा स्याउ खेती किसानको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार