२०८३ असोज ४ , आइतबार

त्रिवेणीका ३५ सय घरको निःशुल्क बिमा



सल्यान । त्रिवेणी गाउँपालिकाले पालिकाभित्र रहेका तीन हजार पाँच सय आवासीय घरको निःशुल्क बिमा गर्ने भएको छ । बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङलगायत विपद्का कारण घरमा हुन सक्ने क्षतिबाट नागरिकले व्यहोर्नुपर्ने आर्थिक जोखिम कम गर्ने उद्देश्यले गाउँपालिकाले बिमा कार्यक्रम अघि बढाएको हो ।

बिमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले नेको इन्स्योरेन्स सल्यान शाखासँग सम्झौता गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, योजना शाखा प्रमुख तिलक रावल तथा नेको इन्स्योरेन्सका शाखा प्रमुख नारायण दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बिमा कार्यक्रम २०८४ असार मसान्तसम्म लागू हुनेछ ।

कार्यक्रममा गाउँपालिकाभित्रका कच्ची तथा पक्की गरी तीन हजार पाँच सय आवासीय घरधुरी समेटिनेछन् । प्रत्येक घरको बिमांक रकम भने प्राविधिक टोलीबाट गरिने विस्तृत लागत मूल्यांकनका आधारमा निर्धारण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रावतका अनुसार विपन्न नागरिकका घरको बिमा गाउँपालिकाले निःशुल्क गरिदिनेछ ।

सम्पन्न परिवारलाई भने आफ्नै घरको बिमा गर्न प्रोत्साहित गरिनेछ । विपद्का कारण घरमा क्षति पुगेपछि विपन्न परिवारले ठूलो आर्थिक भार व्यहोर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए । बिमा प्रक्रिया अघि बढाउन पहिलो चरणमा घरधुरीको विवरण संकलन गरिनेछ । त्यसपछि प्राविधिकबाट प्रत्येक घरको अवस्था तथा लागत मूल्यांकन गरी बिमांक रकम निर्धारण गरिनेछ ।

नेको इन्स्योरेन्सका शाखा प्रमुख दाहालले गाउँपालिकासँगको समन्वयमा घरधुरी विवरण संकलनदेखि बिमा प्रक्रिया पूरा गरिने बताए । बिमा योजनाले बाढी, पहिरो, भूक्षय, भूकम्प, चट्याङ र आगलागीलगायत विपद्बाट घरमा हुने क्षतिलाई समेट्नेछ । यसअघि सल्यानको शारदा नगरपालिकाले पनि आवासीय घरको निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरेको थियो । त्रिवेणी गाउँपालिकाले कार्यक्रम अघि बढाएसँगै जिल्लामा आवासीय घरको निःशुल्क बिमा गर्ने स्थानीय तहको संख्या दुई पुगेको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार