जाजरकोट । नलगाड नगरपालिका १० र ११ को बीचमा रहेको ताक्सुगाड खोलामा पैदल यात्रुलाई सुरक्षित रूपमा आवतजावत गराउन अस्थायी संरचना निर्माण सुरु गरिएको छ । वर्षायाममा खोलाको बहाव बढ्दा सर्वसाधारण जोखिम मोलेर वारपार गर्न बाध्य भएपछि नगरपालिकाले ह्युम पाइपमा रेलिङ र जाली जडान गर्न थालेको हो ।
नगरपालिकाका अनुसार निर्माण कार्य दुई दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्थायी संरचनाबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्त नागरिकलाई खोला वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । ताक्सुगाड खोलामा पछिल्लो समय एकपछि अर्को गर्दै दुर्घटना हुन थालेपछि सुरक्षित आवतजावतको व्यवस्था गर्न स्थानीयले माग गर्दै आएका थिए ।
गत सोमबार खोला तर्ने क्रममा बारेकोट गाउँपालिका–गोठगाउँका २६ वर्षीय रमेश सुनार बेपत्ता भएका थिए । उनको अवस्था हालसम्म अज्ञात छ । यसअघि नलगाड नगरपालिका–दम्काका ४६ वर्षीय रतनबहादुर दमाईं पनि यही खोलामा बगेर बेपत्ता भएका थिए। उनीसमेत हालसम्म फेला परेका छैनन्। केही दिनअघि खोला तर्ने क्रममा एक महिलालाई समेत बगाएको थियो ।
स्थानीयवासीले जोखिम मोलेर उनको उद्धार गरेका थिए । लगातारका घटनापछि ताक्सुगाड खोलामा सुरक्षित आवतजावतको व्यवस्था गर्न दबाब बढेको थियो । त्यसपछि प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढा, प्रदेशसभा सदस्य बेदराज सिंह, नलगाड नगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा तत्कालका लागि अस्थायी सुरक्षा संरचना निर्माण गर्ने सहमति भएपछि अहिले काम अघि बढाइएको हो । ह्युम पाइपमा रेलिङ र जाली जडान गरेपछि खोलाबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम केही कम हुने अपेक्षा गरिएको छ। तर, स्थानीयवासीले अस्थायी संरचनाले मात्र समस्या दीर्घकालीन रूपमा समाधान नहुने बताएका छन् । उनीहरूले वर्षायाममा खोलाको जोखिम अन्त्य गर्न पक्की पुल वा स्थायी आवतजावत संरचना निर्माण गर्न माग गरेका छन् ।








