२०८३ असोज ४ , आइतबार

रारामा एक वर्षमा करिब २५ हजार पर्यटक



मुगु । प्रसिद्ध रारातालमा गत आर्थिक वर्षमा २४ हजार नाै सय ३१ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका अनुसार भ्रमण गर्नेमा २४ हजार ६ सय चार जना नेपाली, एक सय २६ जना सार्क मुलुकका र दुई सय एक जना अन्य विदेशी पर्यटक रहेका छन् । अघिल्लो आर्थिक वर्षमा २० हजार एक सय ९१ पर्यटकले रारा भ्रमण गरेका थिए । गत वर्ष पर्यटकको सङ्ख्या बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वन संरक्षण अधिकृत विष्णुबाबु श्रेष्ठले जानकारी दिए ।

पर्यटकको सङ्ख्या बढेसँगै निकुञ्जको राजस्व पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा प्रवेश शुल्क, डुङ्गा सञ्चालन, दण्ड–जरिबाना, काठदाउरा लगायतका विभिन्न शीर्षकबाट ८७ लाख नौ हजार तीन सय ६६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । पर्यटकबाट मात्रै ४८ लाख २७ हजार चार सय ७७ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

रारा प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क तिर्नुपर्छ । सार्क मुलुकका पर्यटकका लागि एक हजार पाँच सय तथा अन्य विदेशी पर्यटकका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । रारामा डुङ्गा चढ्न प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लाग्छ । चैत, वैशाख तथा असोज–कात्तिकलाई रारा भ्रमणका लागि उपयुक्त समय मानिन्छ ।

अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग हुँदै रारा पुग्ने गरेका छन् । तर, सडकको अवस्था कमजोर हुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण यात्रा कठिन हुने पर्यटकको गुनासो छ । पर्यटक तथा विद्यार्थीलाई राराको प्राकृतिक र जैविक विविधताबारे जानकारी दिन संग्रहालयको व्यवस्थापन गर्नुपर्ने पर्यटक सरोज भण्डारीले बताए । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन र विविध संस्कृतिका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार