२०८३ असोज ४ , आइतबार

स्वास्थ्यकर्मी अभावले जुम्लाका स्वास्थ्य केन्द्र बन्द



जुम्ला । स्वास्थ्यकर्मीको अभाव भएपछि जुम्लाका ग्रामीण क्षेत्रमा स्थापना गरिएका केही आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य इकाई बन्द भएका छन् । स्थानीय नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएका स्वास्थ्य संस्था बन्द हुँदा सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता भएको स्थानीयले बताएका छन् । तिला गाउँपालिका सात घोडेसीममा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र गत असारदेखि बन्द छ ।

करारमा कार्यरत स्वास्थ्यकर्मी हटाइएपछि केन्द्र नियमित सञ्चालन हुन नसकेको वडाध्यक्ष खुम्मीलाल रोकायाले बताए । उक्त केन्द्रमा एक जना अनमी, एक जना अहेब र एक जना कार्यालय सहयोगी कार्यरत थिए । अहिले केन्द्र खोप सञ्चालनका दिन मात्रै खुल्ने गरेको छ । तिला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हर्कबहादुर रावतका अनुसार वडा नम्बर नाैका खोब्री र ढिपुमा रहेका सामुदायिक स्वास्थ्य इकाई पनि गाउँघर क्लिनिक र खोप केन्द्रका रूपमा सीमित छन् ।

पालिकाको आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मी व्यवस्थापन गर्नुपर्ने भए पनि पर्याप्त बजेट अभावमा समस्या भएको उनले बताए । पातारासी गाउँपालिकाको वडा नम्बर तीन स्थित हुरीमहरीको सामुदायिक स्वास्थ्य इकाई पनि गत असारदेखि बन्द रहेको छ । स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार करार कर्मचारी सम्बन्धी प्रदेशको कानुनी व्यवस्थापछि स्वास्थ्यकर्मी व्यवस्थापनमा समस्या भएको हो । दुर्गम गाउँमा स्वास्थ्य इकाई सञ्चालन हुँदा स्थानीयलाई उपचारका लागि सहज भए पनि कर्मचारी अभावमा सेवा रोकिएको उनले बताए ।

जुम्लामा एक अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र, २९ स्वास्थ्य चौकी, २७ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ११ सामुदायिक स्वास्थ्य इकाई र एक शहरी स्वास्थ्य केन्द्र छन् । तीमध्ये केही संस्था कर्मचारी अभावमा बन्द छन् भने कतिपय एक जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य केन्द्र बन्द हुँदा ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि नाग्म बजार तथा पालिका मुकामसम्म पुग्नुपर्ने बाध्यता छ । स्थानीयले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गरी नियमित सेवा सञ्चालन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार